बुटवलको अमरपथस्थित तिनाउ सुनचाँदी पसलमा भएको भनिएको चोरी घटनाको रहस्य खुलेको छ । करिब ८० तोला सुन तथा सुनका गरगहना चोरी भएको दाबी गरिएको घटनामा पसल सञ्चालक नै मुख्य योजनाकार रहेको प्रहरी अनुसन्धानबाट खुलेको हो ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार पसल सञ्चालक दिपक विक (सेन्चुरी) ले बिमा रकम दाबी गर्ने र ग्राहक तथा अन्य पसलले धितोमा राखेका सुनका गरगहनाको जिम्मेवारीबाट बच्न योजनाबद्ध रूपमा चोरीको नाटक रचेका थिए ।
गत जेठ १७ गते चोरी भएको सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय बुटवल, जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा लुम्बिनी प्रदेश प्रहरी कार्यालयको संयुक्त टोलीले अनुसन्धान थालेको थियो। अनुसन्धानका क्रममा घटनास्थलमा कुनै तोडफोड नभएको, लकर मात्र खुला रहेको तथा अन्य शंकास्पद तथ्य भेटिएपछि प्रहरीले घटनालाई गम्भीर रूपमा अनुसन्धान गरेको थियो ।
प्रहरीले १५० भन्दा बढी सीसीटिभी फुटेज अध्ययन गर्दा सञ्चालक विक स्वयं रातिको समयमा पसलभित्र प्रवेश गरी सुन तथा गरगहना बोकेर बाहिरिएको देखिएको जनाएको छ। अनुसन्धानबाट उनले आफ्नै कर्मचारी नविन विकसँग मिलेर चोरीको योजना बनाएको खुलेको छ।
प्रहरीका अनुसार आर्थिक समस्यामा परेका विकले ग्राहक तथा अन्य पसलले धितोमा राखेका सुनका गरगहना विभिन्न समयमा बिक्री गरिसकेका थिए । सुनको मूल्य बढेपछि ती गरगहना फिर्ता गर्न नसक्ने अवस्थामा पुगेका उनले बिमा रकम प्राप्त गर्ने उद्देश्यले चोरी भएको नाटक रचेको अनुसन्धानबाट खुलेको हो ।
घटनामा संलग्न दिपक विक र नविन विकविरुद्ध आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।