तिलाेत्तमाकाे नीति तथा कार्यक्रम : कृषि, पर्यटन र पूर्वाधारमा जाेड

1.3K

तिलाेत्तमाकाे नीति तथा कार्यक्रम : कृषि, पर्यटन र पूर्वाधारमा जाेड

तिलोत्तमा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन, पूर्वाधार विकास, वातावरण संरक्षण तथा सुशासनलाई केन्द्रमा राख्दै महत्वाकांक्षी नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
नगरसभाको २१औँ अधिवेशनको पहिलो बैठकमा नगर प्रमुख रामकृष्ण खाणले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा ‘दिगो कृषि, समृद्ध अर्थतन्त्र, गुणस्तरीय शिक्षा, स्वस्थ नागरिक र आधुनिक पूर्वाधार’लाई विकासको मुख्य आधार बनाइएको छ ।
नगर प्रमुख खाणले विगतमा स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन तथा वित्तीय अनुशासनमा देशकै उत्कृष्ट स्थानीय तहको रूपमा तिलोत्तमाले हासिल गरेको सफलतालाई थप उचाइमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गर्दै विकासलाई नागरिकको घरदैलोमा पुर्‍याउने नीति लिइएको बताए ।
नीति तथा कार्यक्रमअनुसार कृषि क्षेत्रमा यान्त्रीकरण, डिजिटल कृषि परामर्श, माटो परीक्षण, सिँचाइ विस्तार तथा ‘एक वडा–एक उत्पादन’ कार्यक्रमलाई थप प्रभावकारी बनाइनेछ । छाडा चौपाया नियन्त्रण, गौशाला व्यवस्थापन, रैथाने बाली संरक्षण, विषादीमुक्त खेती तथा किसानलाई उत्पादनमा आधारित अनुदान कार्यक्रमलाई निरन्तरता दिइने भएको छ ।
किसानका उत्पादनलाई बजारसँग जोड्न कृषि उपज सङ्कलन केन्द्र स्थापना, न्यूनतम समर्थन मूल्य निर्धारण, निःशुल्क बिक्री स्टल तथा विषादी परीक्षण प्रयोगशालाको व्यवस्था गरिनेछ । दुग्ध उत्पादक किसानलाई प्रतिलिटर दूधमा दुई रुपैयाँ अनुदान दिने कार्यक्रम पनि कायम रहनेछ ।
पर्यटन प्रवर्द्धनका लागि ‘भिजिट लुम्बिनी, स्टे इन तिलाेत्तमा’ अभियान सञ्चालन गरिने भएको छ । शंकरनगर वनवाटिकामा म्युजिकल वाटर फाउन्टेन, आधुनिक भ्यू टावर, होमस्टे विस्तार, पार्क तथा धार्मिक स्थलहरूको संरक्षण र सौन्दर्यीकरण गरिनेछ । कृषि तथा ग्रामीण पर्यटनलाई समेत नगरको आर्थिक विकाससँग जोड्ने योजना अघि सारिएको छ ।
महिला उद्यमशीलता विकासलाई प्राथमिकतामा राख्दै महिला मैत्री हाटबजार सञ्चालन, महिला उद्यमीका उत्पादनको बजारीकरण तथा सीपमूलक तालिमका कार्यक्रम विस्तार गरिने भएको छ । वैदेशिक रोजगारीबाट फर्किएका युवाको सीप, अनुभव र पूँजीलाई स्थानीय उद्यम तथा उत्पादनसँग जोड्ने नीति पनि नगरपालिकाले लिएको छ ।
पूर्वाधारतर्फ आगामी आर्थिक वर्षलाई ‘सडक मर्मत वर्ष’ घोषणा गरिएको छ । रणनीतिक सडकहरूको स्तरोन्नति, ऐतिहासिक पुरानो सडकलाई बहुवर्षीय गौरवको आयोजनाका रूपमा अगाडि बढाउने तथा तिलोत्तमा चक्रपथ निर्माणका लागि संघीय र प्रदेश सरकारसँग समन्वय गरिने भएको छ । नगर क्षेत्रमा खानेपानी सेवामा एकरूपता कायम गर्दै १० हजार लिटरसम्म पानी उपभोग गर्ने उपभोक्तालाई ५० प्रतिशत महसुल छुट दिने व्यवस्था मिलाइनेछ ।
शिक्षा क्षेत्रलाई विशेष प्राथमिकता दिँदै आगामी वर्षलाई ‘शिक्षा, स्वास्थ्य र अवसरको वर्ष’का रूपमा मनाउने घोषणा गरिएको छ । सबै सामुदायिक विद्यालयका प्रारम्भिक बाल विकास कक्षालाई वातानुकूलित बनाइने, माध्यमिक विद्यालयमा स्मार्ट बोर्ड जडान गरिने तथा प्राविधिक शिक्षाअन्तर्गत डिप्लोमा इन फार्मेसी र स्टाफ नर्सिङ कार्यक्रम सञ्चालन गरिने भएको छ ।
विद्यार्थीको सृजनशीलता र प्रतिस्पर्धात्मक क्षमता विकासका लागि ‘एक विद्यालय–एक सृजनशील कार्यक्रम’, स्काउट युनिट, एस.टि.इ.एम. शिक्षा, करियर गाइडेन्स तथा ‘पढ्दै कमाउँदै’ कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
स्वास्थ्य क्षेत्रमा ‘कोखदेखि शोकसम्म तिलोत्तमा सरकार’ अवधारणाअनुसार गर्भवती तथा सुत्केरी महिलालाई निःशुल्क भिडियो एक्स–रे सेवा, पोषण कार्यक्रम, सुलभ फार्मेसी, निःशुल्क मलामी बस सेवा तथा गुणस्तरीय स्वास्थ्य सेवा विस्तार गरिनेछ । आनन्दवन नगर बीपी अस्पताल र ग्राम आधारभूत अस्पताल सञ्चालनमा ल्याइनेछ भने आवश्यक औषधि निःशुल्क उपलब्ध गराइने नीति लिइएको छ ।
वातावरण संरक्षणतर्फ ‘ग्रीन तिलोत्तमा, क्लिन तिलोत्तमा’ अभियानलाई निरन्तरता दिँदै वृक्षारोपण, फोहोर व्यवस्थापन केन्द्र स्थापना, जलवायु अनुकूलन कार्यक्रम तथा सामुदायिक वनसँग सहकार्यमा हरियाली प्रवर्द्धन गरिनेछ ।
सुशासनतर्फ ‘कार्यालयमा लाइन होइन, अनलाइन सेवा’ अभियान सञ्चालन गरी अधिकांश सेवा डिजिटल माध्यमबाट प्रवाह गरिने भएको छ । ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा अशक्त नागरिकलाई घरदैलोमै सेवा उपलब्ध गराउने नीति लिइएको छ । ई–गभर्नेन्स, डिजिटल नागरिक बडापत्र, ई–पेमेन्ट प्रणाली तथा नागरिक सन्तुष्टि मूल्यांकन प्रणाली लागू गरिनेछ ।
नगर प्रमुख खाणले प्रस्तुत नीति तथा कार्यक्रमले समृद्ध, समावेशी, हरित, प्रविधिमैत्री र नागरिकमैत्री तिलोत्तमा निर्माणको आधार तयार गर्ने विश्वास व्यक्त गर्दै यसको सफल कार्यान्वयनका लागि सबै पक्षको सहकार्य आवश्यक रहेको बताए ।