लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सडकको अवस्था सुधार हुँदै गए पनि सवारी दुर्घटना बढ्दै जानु चिन्ताको विषय भएको बताएका छन् । उनले दुर्घटना न्यूनीकरण र सुरक्षित यात्राका लागि सवारी चालक स्वयं जिम्मेवार बन्नुपर्नेमा जोड दिए ।
बिहीबार बुटवलमा आयोजित लुम्बिनी प्रदेशस्तरीय ट्राफिक व्यवस्थापन समीक्षा गोष्ठीलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले विगतको सडक अवस्थासँग वर्तमान अवस्थाको तुलना गर्दा सडक पूर्वाधारमा उल्लेखनीय सुधार भए पनि दुर्घटनाको संख्या बढ्नु गम्भीर विषय भएको बताए ।
उनले ट्राफिक व्यवस्थापनको जिम्मेवारी ट्राफिक प्रहरीको भए पनि सुरक्षित यात्राको मुख्य दायित्व चालककै हुने उल्लेख गरे । ‘विगतको तुलनामा चालकको आनीबानीमा सुधार आएको छ, तर लागूऔषध तथा मदिरा सेवन गरेर सवारी चलाउने प्रवृत्ति अझै पूर्ण रूपमा रोकिएको छैन,’ उनले भने । यस्तो प्रवृत्ति नियन्त्रण गर्न चालक स्वयं सचेत हुनुपर्ने तथा प्रहरी प्रशासनले अनुगमन र नियमनमा थप कडाइ गर्नुपर्ने उनको भनाइ थियो ।
उनले सडक सुरक्षा र सुरक्षित यात्रालाई प्रदेश सरकारको प्राथमिकतामा राखेको उल्लेख गर्दै दुर्घटना न्यूनीकरणका लागि जनचेतना अभिवृद्धि, ट्राफिक व्यवस्थापनमा सुधार, सडक पूर्वाधारको स्तरोन्नती तथा प्रभावकारी समन्वय आवश्यक रहेको बताए । उनले सवारी दुर्घटना रोकथामका लागि दीर्घकालीन तथा परिणाममुखी कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री भण्डारीलाल अहिर यादवले दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरी मात्र नभई सवारी चालक, यातायात व्यवसायी, यात्रु तथा आम नागरिकको पनि उत्तिकै भूमिका रहने बताए ।
नेपाल प्रहरीका कार्य विभाग प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक उमाप्रसाद चतुर्वेदीले सवारी दुर्घटना न्यूनीकरण प्रहरीको मात्र जिम्मेवारी नभई सबै पक्षको साझा प्रयास आवश्यक रहेको धारणा राखे ।
बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको सभाहलमा आयोजना गरिएको कार्यक्रममा बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेय, पश्चिम नेपाल बस व्यवसायी प्रालिका सञ्चालक नारायण घिमिरे तथा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका प्रमुख प्रहरी उपरीक्षक निशान थापा लगायतले दुर्घटना न्यूनीकरणका विषयमा धारणा राखेका थिए ।
लुम्बिनी प्रदेशमा सवारी दुर्घटनाको संख्या मात्र होइन, त्यसबाट हुने मृत्यु दरसमेत बढ्दो क्रममा रहेको छ । लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक भूपेन्द्रबहादुर खत्रीका अनुसार अघिल्लो आर्थिक वर्षमा सवारी दुर्घटनाबाट ५०६ जनाको मृत्यु भएको थियो भने चालु आर्थिक वर्षमा हालसम्म ५४४ जनाले ज्यान गुमाइसकेका छन् । उनका अनुसार प्रदेशमा दैनिक औसत ३ देखि ४ जनाको मृत्यु सवारी दुर्घटनाकै कारण हुने गरेको छ ।
उनले प्रदेश सरकारको नीति तथा कार्यक्रममा ट्राफिक व्यवस्थापनलाई प्रविधिमैत्री बनाउने विषय समेटिएकाले सुधारका काम अघि बढाउन सकिने विश्वास व्यक्त गरे । साथै, सवारी चलाउन सवारी चालक अनुमतिपत्र (लाइसेन्स) मात्र पर्याप्त नहुने भन्दै चालकको व्यवहार, सीप र क्षमतासमेत महत्वपूर्ण हुने बताए । विशेषगरी दुईपाङ्ग्रे सवारी साधन प्रयोग गर्ने युवाहरूलाई सावधानी अपनाउन तथा अभिभावकलाई निगरानी बढाउन उनले आग्रह गरे ।