लायन्स क्लब अफ बुटवलले आफ्नो ४४औँ चार्टर एनिभर्सरी तथा अवार्ड नाइट भव्य रूपमा सम्पन्न गरेको छ । क्लबका अध्यक्ष प्रतीक पोखरेलको अध्यक्षता भएकाे कार्यक्रममा संस्थापकहरु, पूर्वअध्यक्ष तथा सामाजिक सेवामा योगदान पुर्याएकालाई सम्मान गरिएको थियो ।
कार्यक्रममा संस्थापक सचिव तथा पूर्वअध्यक्ष जीवनप्रसाद वझा, संस्थापक सदस्य तथा पूर्वअध्यक्ष निर्मलप्रसाद लाकौल र लक्ष्मीनारायण श्रेष्ठलाई विशेष सम्मान गरिएको थियो ।
कार्यक्रमका लायन्स डिष्ट्रिक्ट गभर्नर बालाराम भट्टराईले विभिन्न क्षेत्रमा पुर्याएको योगदानका कारण क्लबले उत्कृष्टता हासिल गरेको उल्लेख गर्दै सेवामूलक अभियानलाई अझ सशक्त बनाउनुपर्ने बताए । उनले नेपालमा लायन्स अभियानमा ४८ हजारभन्दा बढी सदस्य आबद्ध रहेको जानकारी दिँदै यसको दायरा अझ विस्तार गर्नुपर्ने आवश्यकता औँल्याए । अस्पतालका लागि आवश्यक उपकरण व्यवस्थापन सम्बन्धी प्रस्ताव निर्णयको नजिक पुगेको जानकारी दिँदै उनले पुराना सदस्यलाई निष्क्रिय बनाउने र नयाँ सदस्य खोज्ने प्रवृत्तिभन्दा सदस्यहरूको सक्रियता बढाउन जोड दिए ।

त्यसैगरी, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्यालले क्लबले आफ्नो गौरवशाली इतिहासलाई पुनः ताजगी दिएको उल्लेख गर्दै सामाजिक सेवा र उद्यमशीलता एकअर्काका परिपूरक भएको बताए । उनले युवा उद्यमी र व्यवसायीहरू समाज रूपान्तरणका महत्वपूर्ण साझेदार भएको बताउउदै उद्मशिलता विकासका कार्यक्रम स्रहानीय रहेकाे उनको भनाइ थियो ।
संस्थापक सचिव तथा पूर्वअध्यक्ष जीवनप्रसाद वझाले क्लब स्थापना गर्दाको इतिहास स्मरण गर्दै आँखा अस्पताल स्थापना तथा सञ्चालनसहितका सामाजिक सेवाका विविध आयामबारे प्रकाश पारे । उनले लायन्स क्लब अफ बुटवलले शिक्षा, स्वास्थ्य र मानवीय सेवाका क्षेत्रमा निरन्तर योगदान पुर्याउँदै आएको बताए ।
कार्यक्रम क्लवका इलेक्ट प्रेसिडेन्ट तथा कार्यक्रम संयाेजक दिनेशकुमार प्रधानकाे स्वागत तथा सचिव उमेश अमात्यकाे सञ्चालनमा भएकाे थियाे ।

कार्यक्रममा अतिगरिब तथा विपन्न महिलाको आँखाको उपचारका लागि पूर्वअध्यक्ष निर्मलप्रसाद लाकौलद्वारा स्थापित ‘ब्रजनयन वेलफेयर प्रोग्राम’ अक्षयकोषबाट प्राप्त ब्याज रकम अस्पताल प्रशासनलाई हस्तान्तरण गरिएको थियो । उक्त रकम पूर्वअध्यक्ष लाकाैलले अस्पतालका अध्यक्ष महेशप्रसाद श्रेष्ठ तथा अस्पतालका प्रमुख नेत्ररोग विशेषज्ञ डा. विवेक उपाध्यायलाई हस्तान्तरण गरिएकाे क्लवका सचिव उमेश अमात्यले जानकारी दिए ।
यस्तै, महिला उद्यमशीलता प्रवर्द्धनका लागि स्थापना गरिएको ‘गणेशमान सैंजू इन्टरप्रेनरशिप कार्यक्रम’ अन्तर्गत बुटवलमा खाजा घर सञ्चालन गरेका बुटवल २ का महिला इन्द्रा मर्साङ्गी र शशी सिंजालीलाई आर्थिक सहयोग गरिएको कार्यक्रम संयाेजक बासुदेव श्रेष्ठले जानकारी दिए ।
कार्यक्रममा क्लबका पदाधिकारी, सदस्य, पूर्वअध्यक्ष, विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधि तथा शुभेच्छुकहरूको उल्लेख्य सहभागिता रहेको थियो ।