नेपालमा यस वर्षको मनसुन विस्तार सुस्त गतिमा अघि बढिरहेको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले सोमबार जारी गरेको मनसुन आगमन बुलेटिनअनुसार मनसुन हाल कोशी प्रदेशको सम्पूर्ण भूभाग, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही क्षेत्र तथा लुम्बिनी प्रदेशको पूर्वी भूभागसम्म फैलिएको छ ।
जवकी नेपालमा मनसुन प्रवेश गरेको तीन दिन भईसकेको छ । महाशाखाका अनुसार यो वर्ष मनसुन आगमनको सरदर मिति भन्दा ६ दिन ढिला गरि जुन १९ (असार ५) मा कोशी प्रदेशबाट नेपाल प्रवेश गरेको थियो । सामान्यतया नेपालमा मनुसुन सरदर जुन १३ मा प्रवेश गर्ने मानिन्छ । नेपाल प्रवेश गरेपनि मनसुन प्रणाली कमजोर अवस्थामै रहेकाले देशका बाँकी भू–भागमा यसको विस्तार अपेक्षित गतिमा हुन सकेको छैन ।
जारी बुलेटिनमा मनसुनको प्रभाव हाल पूर्वी तथा मध्य नेपालका अधिकांश क्षेत्रमा देखिएको उल्लेख छ । तर सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका पश्चिमी भूभागसहित देशका धेरै क्षेत्रमा अझै पूर्ण रूपमा मनसुन सक्रिय हुन सकेको छैन ।
मौसमविद्हरूका अनुसार मनसुन प्रणाली कमजोर हुँदा वर्षा गराउने बादलहरूको विकास र विस्तारमा कमी आउँछ । यही कारणले देशभर मनसुन फैलिन अझै केही दिन लाग्ने अनुमान गरिएको छ । यद्यपि मनसुन सक्रिय रहेका क्षेत्रमा भने मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना कायम रहेको छ ।
विशेषगरी किसान, यातायात व्यवसायी तथा विपद् व्यवस्थापनसँग सम्बन्धित निकायलाई मौसमको अद्यावधिक जानकारीका आधारमा आवश्यक तयारी गर्न महाशाखाले सुझाव दिएको छ । मनसुन पूर्ण रूपमा सक्रिय भएसँगै देशका अधिकांश क्षेत्रमा वर्षा बढ्ने अपेक्षा गरिएको छ ।