राष्ट्रिय स्वतन्त्र पार्टीकाे सभापतिमा लामिछाने निर्विराेध : केन्द्रीय सदस्यकाे निर्वाचन हुँदै

1.3K

राष्ट्रिय स्वतन्त्र पार्टीकाे सभापतिमा लामिछाने निर्विराेध : केन्द्रीय सदस्यकाे निर्वाचन हुँदै

चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनअन्तर्गत सभापति पदमा रवि लामिछाने निर्विरोध निर्वाचित भएका छन् । अब पार्टीको नयाँ केन्द्रीय समिति चयनका लागि आज केन्द्रीय सदस्य पदको निर्वाचन हुन लागेको छ । रास्वपाले केन्द्रीय सदस्य चयनका लागि ‘इलेक्ट्रोनिक भोटिङ मेसिन’ (ईभीएम) मार्फत मतदान गराउने तयारी गरेको जनाएको छ । मतदान बिहान ९ बजेदेखि सुरु गर्ने निर्धारित समयमा मतदान सुरु हुन सकेकाे छैन । स्रोतका अनुसार रातिसम्म मनोनयन दर्ता प्रक्रिया जारी रहेकाले कार्यतालिका अनुसार प्रकृया प्रभावित भएकाे हाे ।
केन्द्रीय सदस्यहरूको निर्वाचन सम्पन्न भएपछि पदाधिकारी चयनको प्रक्रिया अघि बढाइने रास्वपाले जनाएको छ । पार्टी विधानअनुसार सभापति र केन्द्रीय सदस्यहरूको टुंगो लागेपछि मात्रै महाधिवेशन प्रतिनिधिहरूले उपसभापति, महामन्त्री, सहमहामन्त्रीलगायत पदाधिकारी चयन गर्न पाउने व्यवस्था छ ।
रास्वपाका अनुसार केन्द्रीय सदस्य तथा पदाधिकारी दुवै तहको मतदान आजै सम्पन्न गरी नतिजासमेत सार्वजनिक गर्ने तयारी गरिएको छ ।
असार ७ गतेदेखि चितवनमा सुरु भएको रास्वपाको पहिलो महाधिवेशन असार ९ गतेभित्रै सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । तर प्रतिनिधि छनोट प्रक्रियामा देखिएको प्राविधिक समस्याका कारण महाधिवेशनको कार्यतालिका प्रभावित हुँदा कार्यक्रम लम्बिएको हो । महाधिवेशनमा देशभरबाट करिब चार हजार प्रतिनिधिको सहभागिता रहेको रास्वपाले जनाएको छ ।