भाेली असार १६ गते मंगलबार र पर्सी १७ गते बुधबार देशका अधिकांश क्षेत्रमा मनसुनी गतिविधि सक्रिय हुने भएकाले भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको भन्दै मौसमविद्हरूले उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् ।
जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले आइतबार साँझ विशेष मनसुन बुलेटिन जारी गर्दै मधेश प्रदेश तथा कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित भारी वर्षा हुने र एक-दुई स्थानमा धेरै भारी वर्षा हुन सक्ने जनाएको छ ।
महाशाखाका अनुसार देशका पहाडी तथा तराई भू-भागका धेरै स्थान र हिमाली भू-भागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।
महाशाखाले बंगालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणालीका कारण नेपालतर्फ जलवाष्पयुक्त हावाको प्रवाह क्रमशः बढ्दै गएको जनाएको छ । यसैका कारण हाल सक्रिय रहेको मनसुन बाँकी भू-भागमा समेत विस्तार हुने सम्भावना रहेको मौसमविद्हरूको भनाइ छ ।
सम्भावित भारी वर्षासँगै पहाडी क्षेत्रमा भू-क्षय, बाढी, पहिरो तथा गेग्रान बहाव (डेब्रिस फ्लो) को जोखिम बढ्ने तथा तराई र शहरी क्षेत्रमा डुबानको खतरा रहने चेतावनी दिइएको छ । साथै ठूला तथा साना नदी, खोला र नालामा पानीको सतह बढ्न सक्ने भएकाले नदी आसपासका बस्ती तथा तटीय क्षेत्रमा विशेष सावधानी अपनाउन आग्रह गरिएको छ ।
महाशाखाले वर्षाका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य सेवा, पर्यटन, नदी किनारका निर्माण कार्य तथा सडक र हवाई यातायात प्रभावित हुन सक्ने जनाएको छ । त्यसैले सर्वसाधारण तथा सम्बन्धित निकायलाई आवश्यक पूर्वतयारी र सतर्कता अपनाउन अनुरोध गरिएको छ ।