नेपाली काँग्रेसको १५औँ महाधिवेशन नजिकिँदै गर्दा क्रियाशील सदस्यता अद्यावधिक र नयाँ सदस्यता वितरणको विवादले महाधिवेशनको तयारी प्रभावित हुने संकेत देखिएको छ । पार्टीले १६–१९ असोजमा महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरे पनि सदस्यता विवाद अझै समाधान हुन सकेको छैन ।
सुरुमा वैशाख मसान्तभित्र सक्ने भनिएको सदस्यता अद्यावधिक प्रक्रिया संस्थापन इतर समूहको असहमति र विभिन्न जिल्लाका विवादका कारण पटक–पटक सर्दै अहिले २० असारसम्म पुर्याइएको छ । सदस्यता छानबिन, पुनरावेदन र अन्तिम सूची तयार गर्ने कामसमेत अझै जारी रहेकाले तल्लो तहका अधिवेशन समयमै सम्पन्न हुनेमा आशंका बढेको छ ।
यद्यपि क्रियाशील सदस्यता व्यवस्थापन समितिका सदस्य तथा सहमहामन्त्री प्रकाश रसाइली ‘स्नेही’ले केन्द्रीय महाधिवेशनको मिति नसर्ने दाबी गरेका छन् । उनका अनुसार वडादेखि प्रदेश तहसम्मका अधिवेशन केही दिन तलमाथि हुन सक्ने भए पनि केन्द्रीय महाधिवेशन निर्धारित समयमै हुनेछ ।
विवादलाई थप चर्काउने विषय भने शीर्ष नेताहरूको सदस्यता अद्यावधिक नै बनेको छ । शेरबहादुर देउवा, पूर्णबहादुर खड्का, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधिलगायत नेताहरूले हालसम्म सदस्यता अद्यावधिक नगरेको बताइएको छ । सभापति गगन थापाले अद्यावधिक नगर्ने व्यक्तिलाई पार्टीले सदस्यका रूपमा मान्यता नदिने र उनीहरू महाधिवेशन प्रक्रियाबाट बाहिरिने चेतावनी दिइसकेका छन् ।
यसैबीच काँग्रेसले ३५ वर्षमुनिका युवालाई लक्षित गर्दै देशभर तीन लाख नयाँ क्रियाशील सदस्य थप्ने अभियान सञ्चालन गरिरहेको छ । तर पुराना सदस्यको नवीकरण, अद्यावधिकमा देखिएको ढिलाइ र पारदर्शितामाथिको विवादले महाधिवेशनको कार्यतालिका नै प्रभावित हुने सम्भावना बढाएको छ । क्रियाशील सदस्यताकै आधारमा प्रतिनिधि चयन र मतदान हुने भएकाले विवाद चाँडै समाधान नभए पार्टीभित्रको आन्तरिक किचलो अझ गहिरिने देखिएको छ ।