यस वर्षको मनसुन प्रणाली आजदेखि नेपालभर फैलिएको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले मंगलबार मनसुन सम्बन्धि बुलेटिन जारी गरेर देशका सबै भूभागमा मनसुन सक्रिय भएको जानकारी दिएको हो ।
महाशाखाका अनुसार यस वर्षको मनसुन असार ५ गते (जुन १९) नेपालका पूर्वी भूभाग हुँदै नेपाल प्रवेश गरेको थियो । प्रारम्भमा कोशी प्रदेशका केही क्षेत्रमा सीमित रहेको मनसुन असार ८ गते (जुन २२) सम्म आइपुग्दा कोशी प्रदेशको बाँकी भूभाग, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही भूभाग तथा लुम्बिनी प्रदेशको पूर्वी क्षेत्रसम्म विस्तार भएको थियो । त्यसपछि क्रमशः पश्चिमतर्फ फैलिँदै आज देशभर मनसुनको प्रभाव पुगेको विभागले जनाएको छ ।
विभागका अनुसार नेपालमा मनसुन सामान्यतया जुन १३ तारिखतिर पूर्वी नेपालबाट प्रवेश गरी करिब एक साताभित्र देशभर फैलिने गर्छ । तर यस वर्ष मनसुन औसत मितिभन्दा ६ दिन ढिलो नेपाल प्रवेश गरेको थियो ।
मनसुन देशभर सक्रिय भएसँगै अब अधिकांश स्थानमा वर्षा हुने सम्भावना बढेको छ । विशेषगरी पहाडी तथा हिमाली क्षेत्रमा मध्यमदेखि भारी वर्षा हुन सक्ने भएकाले बाढी, पहिरो, डुबान तथा नदी-खोलामा पानीको सतह बढ्न सक्ने जोखिमप्रति सचेत रहन विभागले आग्रह गरेको छ ।
देशभर मनसुन फैलिनु कृषि क्षेत्रका लागि सकारात्मक मानिएको छ । विशेषगरी धान रोपाइँको मुख्य समय चलिरहेकाले पर्याप्त वर्षाले रोपाइँ कार्यमा थप गति आउने अपेक्षा गरिएको छ । तर निरन्तर वा अत्यधिक वर्षा हुने क्षेत्रमा भने सम्भावित प्राकृतिक विपद्बाट बच्न स्थानीय प्रशासन र सम्बन्धित निकायका सूचनालाई पालना गर्न विभागले आग्रह गरेको छ ।