स्वदेश फर्किए देउवा : आज कांग्रेस इतरको भेलालाई सम्बोधन गर्ने

1.3K

स्वदेश फर्किए देउवा : आज कांग्रेस इतरको भेलालाई सम्बोधन गर्ने

नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा लामो समयपछि बिहीबार स्वदेश फर्किएका छन् । स्वास्थ्य उपचारका लागि करिब साढे पाँच महिनादेखि विदेशमा रहेका देउवा बिहीबार दिउँसो थाई एयरको विमानबाट काठमाडौं आइपुगेका हुन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा देउवालाई स्वागत गर्न कांग्रेसको संस्थापन इतर समूहका शीर्ष नेतासहित नेता–कार्यकर्ता पुगेका थिए । राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा. शशांक कोइरालाको नेतृत्वमा नेताहरू पूर्णबहादुर खड्का, प्रकाशशरण महत, एनपी साउद, विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौलालगायत नेता देउवाको स्वागतका लागि विमानस्थल पुगेका थिए ।
देउवा विमानस्थलबाट सोझै चुनदेवीस्थित इतर समूहको सम्पर्क कार्यालय पुगेका थिए । त्यहाँ नेता–कार्यकर्ताले उनको स्वागत गरेका थिए भने देउवाले केहीबेर सम्बोधनसमेत गरेका थिए ।
स्वदेश फर्किएलगत्तै देउवा कांग्रेसभित्रको आन्तरिक विवाद र आगामी राजनीतिक रणनीतिमा सक्रिय हुने संकेत देखिएको छ । शुक्रबारदेखि काठमाडौंमा आयोजना हुने इतर समूहको राष्ट्रिय भेलालाई उनले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।
इतर समूहको राष्ट्रिय भेला शुक्रबार (आज)देखि सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा सुरु हुँदैछ । प्रचार–प्रसार समिति संयोजक मीन विश्वकर्माका अनुसार भेलाको उद्घाटन शुक्रबार दिउँसो १ बजे हुनेछ । तीन दिनसम्म चल्ने भेलामा करिब पाँच हजार नेता–कार्यकर्ता सहभागी हुने आयोजकको दाबी छ ।
भेलालाई देउवासहित इतर समूहका शीर्ष नेताहरूले सम्बोधन गर्ने तयारी छ । समूहले कांग्रेसको आगामी महाधिवेशन, पार्टीको संगठनात्मक अवस्था र पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल गर्ने तयारी गरेको छ । देउवा समूहले हालका सभापति गगन थापालाई अझै सभापतिको रूपमा स्वीकार नगरेको र पार्टीको १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिको आधारमा १५औँ महाधिवेशनमा जानुपर्ने धारणा अघि सारेको छ ।
विशेष महाधिवेशनबाट गगन थापा सभापति बनेपछि कांग्रेसभित्र दुई धारबीचको विवाद थप चर्किएको छ । एकातर्फ थापा पक्ष निर्धारित प्रक्रियाअनुसार १५औँ महाधिवेशनतर्फ अघि बढ्ने तयारीमा छ भने देउवा पक्षले विशेष महाधिवेशनको वैधानिकता र त्यसबाट भएका निर्णयप्रति प्रश्न उठाउँदै आएको छ ।
यही विवादका बीच सर्वोच्च अदालतले कांग्रेसको महाधिवेशनसम्बन्धी विवादमा पुनरावलोकनको बाटो खुलाएपछि देउवा पक्ष तत्काल पार्टी विभाजनतर्फ नजाने अवस्थामा पुगेको नेताहरूले बताएका छन् । देउवा पक्षका नेता एनपी साउदले पार्टी विभाजनको पक्षमा आफूहरू नरहेको र अदालतको निर्णय स्वीकार गरेर अघि बढ्नुपर्ने धारणा सार्वजनिक गरेका छन् ।
देउवाको स्वदेश फिर्ती र त्यसलगत्तै इतर समूहको राष्ट्रिय भेलाले कांग्रेसभित्रको शक्ति समीकरणलाई निर्णायक बनाउने नेताहरुले दावी गरेका छन् । शुक्रबारको भेलाबाट देउवाले पार्टीको आगामी दिशा, नेतृत्व र महाधिवेशनबारे कस्तो धारणा सार्वजनिक गर्छन् भन्ने विषयलाई कांग्रेस वृत्तमा चासोका साथ हेरिएको छ ।