रुपन्देहीकाे तिलोत्तमा नगरपालिकाले नगरभित्रका नागरिकको निधन हुँदा अन्तिम संस्कारका लागि स्थानीय घाटसम्म पुग्न निःशुल्क मलामी बस सेवा सञ्चालनमा ल्याएको छ ।
नागरिकको दुःखको घडीमा स्थानीय सरकारको साथ र सहारा उपलब्ध गराउने उद्देश्यले नगरपालिकाले मलामी बस सेवा सुरु गरेको हो । नगरभित्रका कुनै नागरिकको निधन भएमा अन्तिम संस्कारका लागि तिलोत्तमा नगरभित्रकै स्थानीय घाटसम्म मलामी लैजान यो सेवा प्रयोग गर्न सकिने नगरपालिकाले जनाएको छ ।
नगरप्रमुख रामकृष्ण खाणले नागरिकको जीवनका सुख–दुःखका हरेक क्षणमा स्थानीय सरकार साथमा रहनुपर्छ भन्ने मान्यताका साथ सेवा सुरु गरिएको बताए । उनका अनुसार शोकमा रहेका परिवारलाई केही सहजता प्रदान गर्नुका साथै मृतकको अन्तिम यात्रासम्म नगरपालिकाको साथ रहने अनुभूति गराउन मलामी बस सञ्चालन गरिएको हाे ।
नगरपालिकाले सञ्चालनमा ल्याएकाे यो सेवाबाट आर्थिक तथा व्यवस्थापकीय कठिनाइमा रहेका परिवारलाई विशेष राहत पुग्ने अपेक्षा गरेको छ । नगरपालिकाले नागरिकको आवश्यकता र संवेदनशीलतालाई ध्यानमा राख्दै आगामी दिनमा पनि यस्ता जनमुखी तथा मानवीय सेवा विस्तार गर्दै लैजाने जनाएको छ ।