बुटवल बहुमुखी क्याम्पस, समाजशास्त्र विभागको आयोजनामा शोधपत्र लेखनसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । एम.ए. समाजशास्त्र चौथो सेमेस्टरमा अध्ययनरत विद्यार्थीलाई शोधपत्र लेखन प्रक्रिया, अनुसन्धानका विधि तथा शोधकार्यका विभिन्न चरणबारे आवश्यक जानकारी प्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रमको उद्घाटन गर्दे क्याम्पस प्रमुख डा. अरुणकुमार क्षेत्रीले समाजशास्त्र विभागले विद्यार्थीहरूमा अनुसन्धान संस्कृतिको विकास गर्दै स्थानीय तथा समसामयिक सामाजिक विषयमा आधारित अध्ययन–अनुसन्धानलाई प्रोत्साहन गर्दै आएको बताए । उनले अभिमुखीकरण कार्यक्रमले विद्यार्थीहरूलाई आगामी शोधकार्यका लागि थप उत्साहित, जिम्मेवार र आत्मविश्वासी बनाउने विश्वास व्यक्त गरे ।
कार्यक्रममा बुटवल बहुमुखी क्याम्पस समाजशास्त्र विभागका विभागीय प्रमुख जिवनारायण अधिकारीले शोधपत्र लेखनका क्रममा शैक्षिक अनुशासन, अनुसन्धानको नैतिकता, तथ्यमा आधारित विश्लेषण तथा ए पि ए शैलीमा सन्दर्भ सामग्रीको प्रयोग गर्नुपर्ने विषयमा समेत जानकारी दिए । उनले विद्यार्थीलाई आफ्नो रुचि, स्थानीय सामाजिक परिवेश तथा समसामयिक सामाजिक समस्यासँग सम्बन्धित विषय छनोट गरी व्यवस्थित र वैज्ञानिक ढङ्गबाट शोधकार्य अघि बढाउन सुझाव दिए ।
समाजशास्त्र–५९३ अन्तर्गतको शोधपत्र लेखनका लागि विद्यार्थीहरूले अपनाउनुपर्ने अनुसन्धान प्रक्रिया, विषय छनोट, शोध समस्याको पहिचान, उद्देश्य निर्धारण, अनुसन्धान प्रश्न निर्माण, साहित्य समीक्षा, अनुसन्धान विधि, तथ्याङ्क सङ्कलन तथा विश्लेषण, निष्कर्ष लेखन र सन्दर्भ सामग्रीको प्रयोगलगायतका विषयमा अभिमुखीकरण गरिएको थियो ।

समाजशास्त्र–५९३ अन्तर्गत विद्यार्थीहरूले निर्धारित क्रेडिट आवरअनुसार शोधपत्र तयार गरी अनुसन्धान कार्य सम्पन्न गर्नुपर्ने भएकाले उक्त विषयमा विद्यार्थीहरूलाई स्पष्ट जानकारी गराउने उद्देश्यले पनि अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको विभागले जनाएको छ । कार्यक्रममा समाजशास्त्र विभागका प्राध्यापक तथा विषयविज्ञहरू लेखनाथ खनाल, सिताराम भट्टराई , गोपाल भण्डारी, केशव भटटराईले शोधपत्र लेखनका विभिन्न पक्षबारे सहजीकरण गरेका थिए ।
सहभागी विद्यार्थीहरूले शोधपत्रका विषय छनोट, अनुसन्धान विधि, तथ्याङ्क सङ्कलन तथा विश्लेषण लगायतका विषयमा आफ्ना जिज्ञासा राखेका थिए । सहजकर्ताहरूले विद्यार्थीका जिज्ञासाको समाधान गर्दै शोधकार्यलाई प्रभावकारी र गुणस्तरीय बनाउन आवश्यक सुझाव दिएका थिए ।
कार्यक्रमले विद्यार्थीहरूलाई अनुसन्धानको सैद्धान्तिक तथा व्यावहारिक पक्ष बुझ्न, शोधपत्र लेखनका लागि आवश्यक सीप विकास गर्न तथा आफ्नो अनुसन्धानलाई व्यवस्थित रूपमा अगाडि बढाउन महत्वपूर्ण सहयोग पुगेको सहभागी विद्यार्थीहरूले बताएका छन् ।
क्याम्पसका समाजशास्त्र विभागका विभागिय प्रमुख जिवनारायण अधिकारीकोे अध्यक्षता तथा प्राध्यापक सिताराम भट्टराईको संचालनमा भएको उक्त कार्यक्रममा समाजशास्त्र विभागमा प्राध्यापनरत प्राध्यापकहरु एम. ए. चौथो सेमेष्टरमा अध्ययन गर्ने विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।