भोटेकोशी बाढीपीडितलाई ३० लाख बराबरको जुत्ता–चप्पल सहयोग

1.3K

भोटेकोशी बाढीपीडितलाई ३० लाख बराबरको जुत्ता–चप्पल सहयोग

नेपाल जुत्ता–चप्पल उत्पादक संघ, लुम्बिनी प्रदेश शाखाले रसुवाको भोटेकोशी बाढीबाट प्रभावित परिवारका लागि करिब ३० लाख रुपैयाँ बराबरको जुत्ता–चप्पल सहयोग गर्ने भएको छ ।
संघको आइतबार बसेको बैठकले बाढी प्रभावित परिवारलाई विपद्को समयमा आवश्यक सहयोग पुर्‍याउने उद्देश्यले १५ हजार जोर जुत्ता तथा चप्पल उपलब्ध गराउने निर्णय गरेको हो ।
संघका अध्यक्ष यज्ञप्रसाद भुर्तेलका अनुसार लुम्बिनी प्रदेशका विभिन्न जुत्ता–चप्पल उद्योगको सहकार्यमा उक्त सामग्री संकलन गरी बाढी प्रभावित परिवारसम्म पुर्‍याइनेछ ।
सहयोगअन्तर्गत एभरेस्ट फुटवेयर प्रालि, बुटवलले ४ हजार जोर, आस्था फुटवेयरले २ हजार १ सय जोर, ग्यालेक्सी नेपाल फुटवेयर, कपिलवस्तुले २ हजार जोर, ग्लोबल फुटवेयर इन्डस्ट्रिज, चन्द्रौटाले १ हजार ५ सय जोर, फस्ट स्टेप इन्डस्ट्रिजले १ हजार ५ सय जोर, युनिभर्सल सुज इन्डस्ट्रिजले १ हजार १ सय जोर, सिटी वाक फुटवेयरले १ हजार १ सय जोर, मुन स्टार फुटवेयर प्रालि, इमिलियाले १ हजार जोर तथा शिव प्लाष्टिकले ५ सय जोर जुत्ता–चप्पल उपलब्ध गराउने भएका छन् ।
अध्यक्ष भुर्तेलले विपद्का कारण घरबार तथा दैनिक जीवन प्रभावित भएका परिवारलाई राहतस्वरूप आवश्यक सामग्री उपलब्ध गराउने उद्देश्यले उद्योगी व्यवसायीको सहकार्यमा सहयोग अभियान अघि बढाइएको बताए ।
उनले विपद्को समयमा निजी क्षेत्रले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत प्रभावित समुदायसँग हातेमालो गर्नुपर्ने बताउँदै बाढीपीडितलाई तत्काल आवश्यक पर्ने सामग्री सहयोगका रूपमा उपलब्ध गराउन लागिएको जानकारी दिए ।