भोटेकोशी बाढी : ७ सदस्यीय अध्ययन समिति गठन

1.3K

भोटेकोशी बाढी : ७ सदस्यीय अध्ययन समिति गठन

सरकारले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको वैज्ञानिक अध्ययन गरी घटनाको वास्तविक कारण र त्यससँग जोडिएका जोखिम पहिचान गर्न ७ सदस्यीय विज्ञ अध्ययन समिति गठन गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुधबार जल नीति तथा सुशासन विज्ञ देवेश बेल्बासेको संयोजकत्वमा समिति गठन गरेको हो ।
मन्त्रालयका प्रवक्ता मोहनकुमार शाक्यका अनुसार समितिमा जलविद् (हाइड्रोलोजिस्ट) डा. नरेन्द्रमान शाक्य, ग्लेसियोलोजिस्ट डा. रिजनभक्त कायस्थ, रिमोट सेन्सिङ विशेषज्ञ डा. उत्तमबाबु श्रेष्ठ, भूगर्भविद् (जियोलोजिस्ट) डा. मेघराज धिताल, जलविद्युत् पूर्वाधार विज्ञ डा. हरि पण्डित र विपद् जोखिम न्यूनीकरण विज्ञ अनिल पोखरेल सदस्य छन् ।
समितिले बाढीको उद्गमस्थलदेखि भोटेकोशी–ल्हेन्दे नदी प्रणाली हुँदै सम्पूर्ण तटीय क्षेत्रमा स्थलगत अध्ययन गर्नेछ । बाढीको उत्पत्ति, घटनाक्रम, उच्च हिमाली क्षेत्रमा देखिएका भौगोलिक तथा हिमनदीय जोखिम र जलवायु परिवर्तनको सम्भावित भूमिकाबारे वैज्ञानिक अध्ययन गरिने मन्त्रालयले जनाएको छ ।
प्रवक्ता शाक्यका अनुसार रसुवाको बाढीलाई सामान्य बाढी वा अतिवृष्टिका रूपमा मात्र नहेरी उच्च हिमाली क्षेत्रमा उत्पन्न विभिन्न भौगोलिक, हिमनदीय, जलविज्ञानसम्बन्धी तथा अन्य जोखिम एकपछि अर्को रूपमा जोडिँदै विकसित भएको सम्भावित ‘शृङ्खलाबद्ध विपद्’ का रूपमा अध्ययन गर्नुपर्ने जल तथा ऊर्जा आयोगको सचिवालयको प्रस्तावपछि मन्त्रालयले समिति गठन गरेको हो ।
यसअघि आयोग सचिवालयअन्तर्गतको जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले घटनाबारे प्रारम्भिक अध्ययन गरेको थियो । प्रारम्भिक अध्ययनले बाढीको उत्पत्तिस्थल, विपद् सुरु गराउने भौतिक प्रक्रिया तथा ती प्रक्रिया भोटेकोशी–ल्हेन्दे नदी प्रणाली हुँदै तल्लो क्षेत्रमा कसरी फैलियो भन्ने विषयमा पर्याप्त वैज्ञानिक प्रमाणबाट प्रमाणीकरण हुन बाँकी रहेको देखाएको थियो ।
नयाँ समितिले समग्र भूगर्भीय अवस्था, हिमनदी, तापक्रम, पानीको बहावलगायत पक्षको अध्ययन गर्नेछ । भोटेकोशी बाढीबाट ऊर्जा पूर्वाधारमा समेत ठूलो प्रभाव परेको सन्दर्भमा यस्ता विपद्बाट भविष्यमा हुन सक्ने क्षति न्यूनीकरण तथा पूर्वतयारीका उपाय पहिचान गर्ने उद्देश्यसमेत अध्ययनको रहेको मन्त्रालयले जनाएको छ ।