रोटरी क्लब अफ तिलोत्तमा रुपन्देहीले विश्वकर्मा पूजाको अवसरमा श्रमिकलाई सम्मान गरेको छ । क्लबले विहिबार बुटवलमा कार्यक्रम आयोजना गरेर निर्माण क्षेत्रमा कार्यरत ३५ जना श्रमिकलाई सम्मान गरेकाे हाे ।
कार्यक्रममा रोटरी डिष्ट्रिक्टका एसिस्टेन्ट गभर्नर डा. प्रकाश बस्नेत र क्लबका अध्यक्ष देवीलाल भट्टराईले संयुक्त रूपमा श्रमिकहरुलाई दोसल्ला ओढाएर सम्मान गरेका हुन् ।
कार्यक्रममा एजी डा. बस्नेतले श्रमिकप्रति सम्मान व्यक्त गर्दै कामका आधारमा कोही पनि सानो–ठूलो नहुने बताए । उनले समाज र राष्ट्र निर्माणमा मजदुरको महत्वपूर्ण योगदान रहेको उल्लेख गरे ।
क्लबका अध्यक्ष भट्टराईले मजदुरलाई आफ्नो कामप्रति थप अभिप्रेरित र उत्साहित गराउने उद्देश्यले सम्मान गरिएको बताए । उनले क्लबले आगामी दिनमा पनि यस्ता रचनात्मक तथा सामाजिक गतिविधिलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रम संयोजक तथा क्लबका बोर्ड सदस्य सिंहले सहभागी अतिथि, क्लबका पूर्वअध्यक्ष, पदाधिकारी तथा सदस्यलाई स्वागत गरेका थिए । उनले मजदुरको कामप्रतिको हौसला बढाउन सम्मान कार्यक्रम आयोजना गरिएको बताउँदै छोटो निमन्त्रणालाई स्वीकार गरी उपस्थित भएकोमा सबैप्रति आभार व्यक्त गरे । कार्यक्रममा क्लबका पदाधिकारी, सदस्य तथा पूर्वअध्यक्षहरू र श्रमिकहरुको सहभागिता रहेको थियो ।

