कांग्रेस १५ औं महाधिवेशन : वडा अधिवेशन प्रारम्भ हुँदै

1.3K

कांग्रेस १५ औं महाधिवेशन : वडा अधिवेशन प्रारम्भ हुँदै

नेपाली कांग्रेसको १५औं केन्द्रीय महाधिवेशनअन्तर्गत शनिबारदेखि वडा अधिवेशन सुरु हुँदैछ । पार्टी केन्द्रीय निर्वाचन समितिले स्थानीय अनुकूलताअनुसार शनिबार र आइतबार वडा अधिवेशन गर्न सकिने जनाएको छ । २०८२ पुससम्म क्रियाशील सदस्यता नवीकरण गरेका सदस्यहरू वडा अधिवेशनमा सहभागी हुनेछन् ।
सभापति गगन थापाले वडा तहबाट सुरु हुने अधिवेशनमा उत्साहका साथ सहभागी हुन पार्टीका क्रियाशील सदस्यलाई आह्वान गरेका छन् । वडा अधिवेशनले सभापति, एक महिलासहित दुई उपसभापति, एक सचिव र एक सहसचिवसहितको वडा कार्यसमिति निर्वाचित गर्नेछ । गाउँपालिकाअन्तर्गतका वडा कार्यसमितिमा कम्तीमा दुई महिला, एक दलित र ३० वर्षमुनिका एक युवासहित सात जना वडा सदस्य निर्वाचित हुनेछन् । नगर तथा उपमहानगरपालिकाका वडामा दुई महिला, एक दलित र ३० वर्षमुनिका दुई युवासहित आठ तथा महानगरपालिकाका वडामा तीन महिला, एक दलित र ३० वर्षमुनिका तीन युवासहित ११ जना सदस्य निर्वाचित हुने व्यवस्था छ ।
वडा सभापतिले स्थानीय तहअनुसार थप सदस्य मनोनीत गर्न पाउने व्यवस्था विधानमा छ । गाउँपालिका वडा सभापतिले पाँच, नगरपालिका तथा उपमहानगरपालिका वडा सभापतिले छ र महानगरपालिका वडा सभापतिले सात सदस्य मनोनीत गर्न सक्नेछन् । मनोनयन गर्दा एकतिहाइ महिला प्रतिनिधित्वका साथै समावेशी सिद्धान्त, दलित, आदिवासी जनजाति, मधेसी, थारू, मुस्लिम, अल्पसंख्यक, अपाङ्गता भएका व्यक्ति र युवाको प्रतिनिधित्वलाई ध्यान दिनुपर्ने व्यवस्था छ ।
वडा अधिवेशनबाट क्षेत्रीय अधिवेशनका प्रतिनिधिसमेत चयन हुनेछन् । १५० वा सोभन्दा कम क्रियाशील सदस्य रहेको वडाबाट कम्तीमा तीन महिला, एक श्रमिक वा पेसागत क्षेत्रसहित नौ जना क्षेत्रीय प्रतिनिधि निर्वाचित हुनेछन् । साथै ३० वर्षमुनिका एक महिलासहित तीन युवा प्रतिनिधि निर्वाचित हुने व्यवस्था छ ।
१५० भन्दा बढी क्रियाशील सदस्य रहेका वडामा प्रति १५० थप सदस्य बराबर दुई महिला र एक युवासहित छ जना थप प्रतिनिधि निर्वाचित हुनेछन् । यस्तो प्रतिनिधिको संख्या बढीमा ५५ जनासम्म रहने व्यवस्था छ ।
विधानअनुसार महिला, दलित, आदिवासी जनजाति, खसआर्य, मधेसी, थारू, मुस्लिम, अल्पसंख्यक तथा पिछडिएको क्षेत्रबाट समेत जनसंख्याको बनोटका आधारमा समानुपातिक प्रतिनिधित्व सुनिश्चित गरिनेछ । अपाङ्गता भएका र दलित क्रियाशील सदस्यमध्येबाट एक–एक जना प्रतिनिधि चयन हुनेछन् । वडा कार्यसमिति सभापति पदेन क्षेत्रीय अधिवेशन प्रतिनिधि हुने व्यवस्था छ ।
कांग्रेसको संशोधित विधानमा वडा कार्यसमिति सभापतिको उम्मेदवारका लागि छुट्टै योग्यता तोकिएको छैन । यसअघि क्रियाशील सदस्यता प्राप्त गरेको कम्तीमा एक वर्ष पुगेको सदस्य मात्रै वडा सभापतिको उम्मेदवार बन्न पाउने व्यवस्था थियो ।
गत पुसमा सम्पन्न विशेष महाधिवेशनबाट संशोधन गरिएको विधानमा गाउँपालिका, नगरपालिका, प्रदेशसभा, प्रतिनिधिसभा क्षेत्र, जिल्ला, प्रदेश तथा केन्द्रका विभिन्न पदमा उम्मेदवार बन्न आवश्यक क्रियाशील सदस्यताको अवधि पनि उल्लेख गरिएको छैन ।
तर १५औं महाधिवेशन निर्वाचन निर्देशिका, २०८३ ले वडा सभापतिबाहेकका विभिन्न पदका उम्मेदवारका लागि योग्यता तोकेको छ । गाउँपालिका÷नगरपालिका सभापति, प्रदेशसभा सभापति, प्रतिनिधिसभा क्षेत्रीय सभापति तथा जिल्ला उपसभापति र सचिवका लागि कम्तीमा पाँच वर्ष क्रियाशील सदस्य भएको हुनुपर्ने व्यवस्था छ ।
जिल्ला सभापति, प्रदेश सभापति, प्रदेश तथा जिल्ला पदाधिकारी र केन्द्रीय सदस्यका लागि कम्तीमा १० वर्ष क्रियाशील सदस्यता भएको हुनुपर्नेछ । ३५ वर्षमुनिका युवा, समायोजन भई आएका तथा पेसागत–श्रमिक क्षेत्रका सदस्यका हकमा उक्त अवधि लागू नहुने निर्देशिकामा उल्लेख छ । केन्द्रीय पदाधिकारीका लागि १० वर्ष र केन्द्रीय सभापतिका लागि १५ वर्ष निरन्तर क्रियाशील सदस्य भएको हुनुपर्ने व्यवस्था निर्वाचन निर्देशिकामा गरिएको छ ।