महाधिवेशन प्रतिनिधिमा अर्थोपेडिक सर्जन डा. खरेलको उम्मेदवारी घाेषणा

1.3K

महाधिवेशन प्रतिनिधिमा अर्थोपेडिक सर्जन डा. खरेलको उम्मेदवारी घाेषणा

बुटवलका चर्चित वरिष्ठ अर्थोपेडिक सर्जन (चिकित्सक) डा. कृष्ण खरेलले नेपाली काँग्रेसको १५औँ महाधिवेशनअन्तर्गत रुपन्देही क्षेत्र नं. २ बाट महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा गरेका छन् ।
चिकित्सा क्षेत्रमा लामो समयदेखि सक्रिय डा. खरेलले पेसागत विज्ञ समूहतर्फबाट महाधिवेशन प्रतिनिधिका लागि उम्मेदवारी दिन लागेका हुन् । उनी नेपाल चिकित्सक संघ लुम्बिनीका अध्यक्ष तथा डेमोक्रेटिक डक्टर्स एसोसिएसन लुम्बिनीका अध्यक्षसमेत हुन् ।
डा. खरेल नेपाली काँग्रेसको राजनीतिमा लामो समयदेखि सक्रिय रहँदै आएका छन् ।२०४८ सालमा   तत्कालीन भ्याली क्याम्पस काठमाडौ अहिलेको काठमाडौ बिश्वबिधालयका स्व बि यु सभापति भएका उनी नेपाल मेडिकल काउन्सिलका पूर्व सदस्यसमेत हुन् । चिकित्सा पेसासँगै सामाजिक सेवामा समेत सक्रिय डा. खरेलले स्वास्थ्य तथा सामाजिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएका छन् ।
कोभिड–१९ महामारीलगायतका स्वास्थ्य संकटका समयमा अग्रपंक्तिमा रहेर सेवा गरेका खरेल पार्टी संगठन विस्तार र सामाजिक सेवाका गतिविधिमा समेत सक्रिय रहँदै आएका छन् ।
उम्मेदवारी घोषणा गर्दै डा. खरेलले आफूले राजनीतिलाई पद प्राप्तिको माध्यमभन्दा सेवा गर्ने अवसरका रूपमा लिएको बताए ।
“राजनीतिलाई मैले सेवाका रूपमा लिएको छु । स्वास्थ्य क्षेत्रको अनुभव र सामाजिक सेवाबाट प्राप्त ज्ञानलाई पार्टी संगठन र समाजको हितमा उपयोग गर्न चाहन्छु । त्यसैले यसपटक महाधिवेशन प्रतिनिधिका रूपमा अघि बढ्ने निर्णय गरेको हुँ,” उनले भने ।
काँग्रेसको संगठनलाई थप सबल बनाउन पेसागत क्षेत्रबाट विज्ञता र अनुभव भएका व्यक्तिको सक्रिय भूमिका आवश्यक रहेको उनको भनाइ छ । उनले स्वास्थ्य, सामाजिक सेवा र संगठन निर्माणका क्षेत्रमा आफूले हासिल गरेको अनुभवलाई पार्टीको नीति तथा कार्यक्रम निर्माणमा उपयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
डा. खरेलले रुपन्देही क्षेत्र नं. २ का क्षेत्रीय प्रतिनिधिहरूसँग साथ, सहयोग र समर्थनका लागि आग्रह गर्दै मतदानमार्फत आफूलाई महाधिवेशन प्रतिनिधिका रूपमा निर्वाचित गराउन अपिल गरेका छन् ।