उद्योग सञ्चालनमा भएको अवरोधप्रति बुटवल उद्योग वाणिज्य संघको आपत्ति

1.3K

उद्योग सञ्चालनमा भएको अवरोधप्रति बुटवल उद्योग वाणिज्य संघको आपत्ति

बुटवल उपमहानगरपालिका वडा नं. ११, सांग्रिलापथ सञ्चालित रारा मसला उद्योग सञ्चालनमा भएको अवरोधप्रति बुटवल उद्योग वाणिज्य संघले गम्भीर आपत्ति जनाएको छ । उद्योगसँग सम्बन्धित समस्या भए समाधानका लागि कानुनी र संस्थागत प्रक्रिया हुँदाहुँदै कानुन हातमा लिएर उद्योगी–व्यवसायीमाथि दबाब सिर्जना गर्ने गतिविधि स्वीकार्य नहुने संघले स्पष्ट पारेको छ ।
संघले मंगलबार विज्ञप्ती जारी गरि स्थानीय बासिन्दाको विरोध तथा उजुरीपछि उद्योगको उत्पादन बन्द भएको र नियमनकारी निकायबाट समेत एकतर्फी दबाब सिर्जना भएको विषयमा ध्यानाकर्षण जनाउँदै संघले उद्योग सञ्चालनका क्रममा देखिएका समस्या संवाद, सहकार्य र कानुनी प्रक्रियाबाट समाधान गर्नुपर्ने बताएको छ ।
संघका अध्यक्ष हरिप्रसाद अर्यालद्वारा हस्ताक्षरित विज्ञप्तिमा २०४६ सालदेखि स्वदेशमै मसलाजन्य वस्तु उत्पादन गर्दै आएको उद्योगले आयात प्रतिस्थापन, रोजगारी सिर्जना र स्थानीय अर्थतन्त्रमा योगदान पु¥याउँदै आएको उल्लेख छ । लामो समयदेखि सञ्चालनमा रहेको उद्योगलाई समस्या समाधानको अवसर दिनुको सट्टा हुलहुज्जत र दबाब सिर्जना गरिनु निजी क्षेत्रको लगानी र उद्यमशीलताका लागि समेत चिन्ताको विषय भएको संघले जनाएको छ ।
संघले सम्मानित अदालतबाट समेत अर्को आदेश नभएसम्म उद्योग सञ्चालन गर्न अनुमति प्राप्त भइसकेको अवस्थामा कानुन हातमा लिने वा उद्योगी–व्यवसायीको मनोबल कमजोर पार्ने कुनै पनि प्रयास स्वीकार्य नहुने स्पष्ट पारेको छ ।
बुटवल उपमहानगरपालिकाले गरेको स्थलगत अनुगमनपछि उद्योगमा देखिएको धुलो प्रदूषण र कम्पनसम्बन्धी समस्या समाधानका लागि भने सुधारको प्रयास र प्रक्रिया अघि बढिरहेको बेला उद्योगमाथि हुलहुज्जत गर्ने वा उत्पादन नै बन्द गराउने अवस्था सिर्जना गर्नुको सट्टा सम्बन्धित निकायले सहजीकरण गर्नुपर्ने संघले जनाएको छ ।
संघले उद्योगसँग सम्बन्धित समस्यालाई तथ्यपरक रूपमा अध्ययन गरी अनुगमन, संवाद र समन्वयमार्फत दीर्घकालीन समाधान खोज्न सम्बन्धित सबै पक्षसँग आग्रह गरेको छ । साथै, निजी क्षेत्रको लगानी, उद्यमशीलता र रोजगारी संरक्षणका लागि उद्योगलाई आवश्यक सुधार गर्ने उपयुक्त समय र वातावारण उपलब्ध गराउन तथा नियमनकारी निकायले सहयोगी र समन्वयकारी भूमिका निर्वाह गर्न समेत अनुरोध गरिएको छ ।