नेपालमा अर्नव चक्रवातको खतरनाक संकेत : उच्च सतर्कता

1.3K

नेपालमा अर्नव चक्रवातको खतरनाक संकेत : उच्च सतर्कता

बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नव’को अप्रत्यक्ष प्रभाव नेपालमा पनि देखिन थालेको छ । चक्रवातको प्रभावले बिहीबार रातिदेखि शनिबारसम्म देशका विभिन्न क्षेत्रमा वर्षा, हावाहुरी र हिमपातको सम्भावना रहेकाले सरकारले उच्च सतर्कता अपनाएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीका अनुसार मौसम पूर्वानुमानलाई ध्यानमा राख्दै बिहीबारदेखि शनिबारसम्म सम्बन्धित निकाय र सुरक्षा अंगलाई पूर्वतयारीसहित उच्च सतर्कतामा रहन भनिएको छ । पहिलेदेखि नै जोखिम पहिचान भएका क्षेत्रमा विशेष सावधानी अपनाउन निर्देशन दिइएको उनले बताए ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार कोशी, मधेश, बागमती र लुम्बिनी प्रदेशमा सामान्यतया बादल लाग्ने सम्भावना छ । बिहीबारदेखि वर्षा र हिमपातको सम्भावना बढ्नेछ भने शुक्रबार र शनिबार चक्रवातको प्रभाव तुलनात्मक रूपमा बढी देखिन सक्छ ।
शुक्रबार र शनिबार कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मध्यम वर्षा तथा मेघगर्जन, चट्याङ र हावाहुरीको सम्भावना छ । ती प्रदेशका केही स्थानमा भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ । कर्णाली र सुदूरपश्चिमका पहाडी तथा हिमाली क्षेत्रमा पनि वर्षा र हिमपात हुन सक्ने मौसमविद्ले बताएका छन् ।
मौसमविद् विभूति पोखरेलका अनुसार चक्रवातको बाहिरी घेराबाट आएका बादल नेपालको माथिल्लो वायुमण्डलमा रहेको प्रणालीसँग मिसिँदा वर्षा र हिमपात हुन सक्छ ।
चक्रवातको प्रभावले उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको जोखिम बढ्न सक्ने प्राधिकरणले जनाएको छ । त्यसैले पदयात्री, पर्यटक र पर्वतारोहणमा जानेहरूलाई उच्च पहाडी तथा हिमाली क्षेत्रमा यात्रा नगर्न आग्रह गरिएको छ । कात्तिक १२, १३ र १४ गते पदयात्रामा जान रोक लगाइएको छ भने यसअघि नै पदयात्रामा रहेकालाई मौसम प्रतिकूल रहँदासम्म सुरक्षित स्थानमा बस्न भनिएको छ ।
वर्षा र हिमपातले सडक तथा हवाई यातायात, पदमार्ग र दैनिक जनजीवन प्रभावित हुन सक्ने भएकाले अत्यावश्यक कामबाहेक यात्रा नगर्न र सम्बन्धित निकायका निर्देशन पालना गर्न प्राधिकरणले आग्रह गरेको छ । सम्भावित बाढीको जोखिम रहेका नदीकिनार तथा अन्य जोखिमयुक्त क्षेत्रमा नबस्न, मौसमको अद्यावधिक सूचना नियमित लिन र जोखिमयुक्त गतिविधिबाट टाढा रहन पनि अनुरोध गरिएको छ ।

भारतको तटीय क्षेत्रमा चक्रवातको जोखिम

भारतको मौसम विभागका अनुसार चक्रवात ‘अर्नव’ पश्चिम–मध्य बंगालको खाडीबाट आन्ध्र प्रदेशको तटतर्फ अघि बढिरहेको छ । बुधबार बिहानसम्म विजयबाडा र विशाखापटनमबीचको तटीय क्षेत्रमा प्रवेश गर्ने अनुमान गरिएको चक्रवातका बेला हावाको गति ११५ देखि १२५ किलोमिटर प्रतिघण्टासम्म पुग्न सक्ने र अधिकतम गति १४० किलोमिटर प्रतिघण्टासम्म पुग्न सक्ने पूर्वानुमान छ ।
चक्रवातका कारण भारतका तटीय क्षेत्रमा भारी वर्षा, तीव्र हावाहुरी र डुबानको जोखिम बढेको छ । रुख ढल्ने, विद्युतका खम्बामा क्षति पुग्ने र कमजोर संरचना भत्किने जोखिमलाई ध्यानमा राख्दै प्रभावित क्षेत्रमा सतर्कता बढाइएको छ । विद्यालय बन्द गर्ने, जोखिममा रहेका नागरिकलाई सुरक्षित राख्ने र आवश्यक राहत सामग्रीको व्यवस्था गर्ने तयारी गरिएको छ ।
चक्रवातको सम्भावित प्रभावका कारण भारतमा रेल तथा हवाई सेवा पनि प्रभावित हुन सक्ने जनाइएको छ । दक्षिण तटीय रेलवेले अक्टोबर २७ र २८ का लागि निर्धारित ५३ वटा रेल सेवा रद्द गरेको छ । एयर इन्डियाले पनि विशाखापटनम र विजयवाडा आउने-जाने उडानको अवस्था जाँच गरेर मात्रै विमानस्थल जान यात्रुलाई आग्रह गरेको छ ।
नेपालमा सम्भावित विपद्का बेला राष्ट्रिय तथा जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्रको १२३४, नेपाल प्रहरीको १००, सशस्त्र प्रहरी बलको १११४ र पर्यटक प्रहरीको ११४४ नम्बरमा सम्पर्क गर्न सकिने प्राधिकरणले जनाएको छ । मौसमसम्बन्धी जानकारीका लागि ११५५ नम्बरमा सम्पर्क गर्न सकिनेछ ।