चिनियाँ अटोमोबाइल कम्पनी चांगानको नयाँ इलेक्ट्रिक एसयूभी नेभो क्यू०५ बुटवलमा सार्वजनिक हुँदै छ । चांगानको बुटवलस्थित आधिकारिक विक्रेता जेनोस मोटर्स प्रालिले नयाँ मोडल भित्र्याउन लागेको हो ।
सार्वजनिक कार्यक्रमअघि ग्राहकलाई गाडीको विशेषता र प्रविधिबारे जानकारी गराउन बुटवलस्थित शोरुममा टेस्ट ड्राइभको व्यवस्था गरिएको कम्पनीले जनाएको छ । नेभो क्यू०५ को अल्ट्रा भेरियन्टको मूल्य ५१ लाख ९९ हजार रुपैयाँ निर्धारण गरिएको छ ।
१२० किलोवाट क्षमताको इलेक्ट्रिक मोटर जडान गरिएको यो एसयूभीले एकपटकको फुल चार्जमा ४६२ किलोमिटरसम्म रेन्ज दिने कम्पनीको दाबी छ । प्रति १०० किलोमिटरमा १२.९ किलोवाट आवर ऊर्जा खपत गर्ने यस गाडीमा ५१.९ किलोवाट आवर क्षमताको सिएटिएल लिथियम आइरन फस्फेट ब्याट्री छ ।
चांगानको गोल्डेन सिल्ड २.० प्रविधियुक्त ब्याट्री रहेको गाडीमा १६२ किलोवाटसम्मको डीसी फास्ट चार्जिङ सुविधा छ । यसलाई १५ मिनेटमै ३० प्रतिशतबाट ८० प्रतिशतसम्म चार्ज गर्न सकिने कम्पनीले जनाएको छ ।
आधुनिक डिजाइन र फराकिलो क्याबिनलाई विशेष प्राथमिकता दिइएको क्यू०५ मा २ हजार ७३५ एमएमको ह्विलबेस र ५४० लिटर क्षमताको बुट स्पेस छ । पछाडिको सिट ढल्काउन मिल्ने सुविधाले यात्रालाई थप आरामदायी बनाउने कम्पनीको भनाइ छ ।
चांगानको ३१ देशका ९१५ विशेषज्ञ सम्मिलित अन्तर्राष्ट्रिय डिजाइन टोलीले विकास गरेको यो एसयूभीले प्रतिष्ठित ‘गोल्डेन ए’ अन्तर्राष्ट्रिय डिजाइन अवार्डसमेत प्राप्त गरेको छ । कम्पनीका अनुसार नेभो क्यू०५ ले चिनियाँ बजारमा आफ्नो सेग्मेन्टमा लगातार पाँच महिनादेखि अग्रस्थान कायम गरेको छ । नोभेम्बर २०२६ को अन्त्यसम्म यस मोडलको कुल बिक्री दुई लाख युनिट नाघेको कम्पनीको दाबी छ ।
एमएडब्लू वृद्धि अटोकोर्पअन्तर्गत जेनोस मोटर्सले सन् २०२४ देखि बुटवलमा चांगानका विद्युतीय सवारी बिक्री गर्दै आएको छ । कम्पनीले दिपल र नेभो ब्रान्डका सवारीसाधनसँगै बिक्रीपछिको सेवा पनि उपलब्ध गराउँदै आएको जनाएको छ ।