बुटवल, ६ भदौ । बुटवल उद्योग वाणिज्य संघ अन्तर्गत वस्तुगत मोवाइल समितिले रक्तदान गरेको छ । समितिले रगतको अभावमा कसैको ज्यान जान नपरोस् भन्ने उद्देश्यले पहिलोपटक सोमबार रक्तदान गरेको हो ।
रक्तदान कार्यक्रममा बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष महेशमान सिंह, संघका कार्यसमिति सदस्य मनोज ध्वजू, मोबाइल समितिका सचिव सुरेन्द्र भारी, समितिका विष्णु ज्ञवाली लगायत ३८ जनाले रक्तदान गरेको अध्यक्ष एमएल पाण्डेले जानकारी दिनुभयो ।
समितिले रक्तदानसंगै ब्लड बैंक बुटवललाई डिजिटल तौल मेसिन पनि प्रदान गरेको छ भने रक्तदान सम्बन्धी जनचेतना बढाउन स्टिकर वितरण गरेको छ । रक्तदान कार्यक्रम उद्घाटन गर्दै प्रमुख अतिथि संघका अध्यक्ष महेशमान सिंहले संघ अन्तर्गतका वस्तुगत समितिहरु मध्ये कान्छो भएर पनि मोबाइल समिति निकै सक्रिय भएकाले पहिलोपटक मोबाइल मेला सफलतापुर्वक सम्पन्न गरेको उल्लेख गर्दै थप रचनात्मक काम गर्न सुझाव दिनुभयो ।
कार्यक्रममा रक्त संचार सेवा केन्द्रका विमलबहादुर शाक्य, संघका पुर्व अध्यक्ष अर्जुनमान सैंजू, मोबाइल समितिका उपसभापति मनोज लाकौल लगायतले मन्तव्य व्यक्त गर्दै मोबाइल समितिको सामाजिक उत्तरदायित्वको सराहना गर्नु भएको थियो । रक्तदान कार्यक्रमको संयोजकत्व रवि भट्टराईले र संचालन विष्णु ज्ञवालीले गर्नु भएको थियो ।