बुटवल, ८ भदौ । पश्चिमाञ्चल फाइनान्स कम्पनी लि.को २० औं वार्षिक साधारण सभा बुधबार सम्पन्न भएको छ । उक्त साधारण सभाले कम्पनीको आर्थिक वर्ष २०७१÷०७२ को नाफाबाट आफ्ना शेयरधनीहरुलाई चुक्ता पूँजी ३० करोड ३५ लाख ७ हजार तीन सयको ०.७९ प्रतिशत नगद लाभांश एवं १५ प्रतिशत वोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
१५ प्रतिशत वोनस शेयर बितरण पश्चात हालको जारी तथा चुक्ता पूँजी तीस करोड पैंतीस लाख सात हजार तीन सय रुपैंयाबाट बृद्धि भइ ३४ करोड नब्बे लाख ३३ हजार तीन सय कायम हुन पुगेको कम्पनीले जनाएको छ । फाइनान्स कम्पनीका अध्यक्ष गोपालबहादुर पोखरेलको अध्यक्षतामा भएको साधारण सभामा नेपाल धितोपत्र बोर्डको तर्फबाट पर्यवेक्षकका रुपमा तोलाकान्त न्यौपाने, कम्पनीका सञ्चालक ज्ञानेन्द्रप्रसाद कसजु लगायतले आआफ्ना विचार राख्नु भएको थियो ।
कार्यक्रमको संचालन कम्पनी सचिव सुन्दरप्रसाद पाठकले गर्नु भएको थियो । मुख्य शाखा कार्यालय बुटवलमा रहेको कम्पनीले पाल्पा तानसेन बेनी म्याग्दी, स्याङ्गजा, काठमाण्डौ तुल्सीपुर दाङ्ग, कुश्मा, न्यूरोड काठमाण्डौ, र ड्राइभरटोल लगायतका क्षेत्रमा गरि कुल ९ वटा शाखा कार्यालय मार्फत बैकिङ्ग कारोवार गर्दै आइरहेको छ ।
गत आर्थिक वर्ष २०७१÷०७२ मा कुल सञ्चालन आम्दानी ४४ करोड पन्ध्र लाख तथा कुल सञ्चालन खर्च ३० करोड सात लाख गरी नोक्सानी व्यवस्था अघि कम्पनीले १४ करोड सात लाख ८० हजार ७ सय ८१ सञ्चालन मुनाफा भएको अध्यक्ष पोखरेलले जानकारी दिनुभयो ।