होटलको शुल्कमा एक रुपता ल्याउन ‘मेनु’

1.3K

होटलको शुल्कमा एक रुपता ल्याउन ‘मेनु’

mulya-suchi

मर्यादित भएर व्यबसाय सञ्चालन गर्न प्रनाउ मरासीनीको आग्रह
बुटवल, २३ भदौ । रुपन्देहीका होटल व्यबसायमा मुल्यमा एक रुपता ल्याउन होटल तथा रेष्टुरेण्ट व्यबसायी संघ रुपन्देहीले संघमा आवद्ध होटल व्यबसायीलाई मुल्य सूचि प्रदान गरेको छ ।

जिल्लामा सञ्चालित होटलहरुलाई सेवा सुविधाका आधारमा चार वर्गमा विभाजन गरी सोही अनुसार उक्त होटलबाट प्रदान हुने सेवा सुविधाको मुल्य सूचि बनाएर प्रदान गरेको संघका अध्यक्ष समुन्द्र जिसीले बताउनु भयो ।

उच्च स्तरीय, स्तरीय, मझौला र साना होटल गरी चार वर्गमा विभाजन गरिएको हो । संघका कोषाध्यक्ष रोमाकान्त पाण्डेका अनुसार उच्च स्तरीय होटलले भने आफै मुल्य निर्धारण गर्ने छन् । हाललाई संघले स्तरीय, मझौला र साना होटललाई मध्येनजर गरी मुल्य सूचि (मेनु) बनाएको हो ।

होटलहरुले प्रदान गर्ने सेवा सुविधाका विषयलाई लिएर सर्वत्र आलोचना खेप्नु परेकाले होटलहरुले प्रदान गर्ने सेवा सुविधाको मुल्यमा एक रुपता ल्याउनकालागि मुल्य सूचि बनाएर होटल व्यबसायीलाई प्रदान गरिएको र प्रभावकारी रुपमा कार्यान्वयन गर्न संघका वरिष्ठ उपाध्यक्ष रामप्रसाद गौतमले बताउनु भयो ।

हालै ईलाका प्रहरी कार्यालय बुटवलमा आउनु भएका प्रहरी नायव उपरिक्षक मुकुन्द मरासीनीको स्वागत तथा सम्मानमा आयोजना गरिएको परिचयात्मक कार्यक्रममा उक्त मुल्य सूचि सार्वजनिक गरिएको छ । संघका कोषाध्यक्ष रोमाकान्त पाण्डेको संयोजकत्वमा गठित समितिले जिल्लाका होटलहरुको आन्तरिक अध्ययन गरि सेवा सुविधाको मुल्याङ्कन गरेको थियो । उक्त मुल्याङ्कनमा उपभोक्ता तथा व्यबसायी दुवै पक्षलाई फाईदा पुग्ने कोषाध्यक्ष पाण्डेले बताउनु भयो ।

उक्त कार्यक्रममा होटल व्यबसायीलाई प्रहरी नायव उपरिक्षक मरासीनीले मर्यादित भएर व्यबसाय सञ्चालन गर्न आग्रह गर्नुभयो । उहाँले उद्योग व्यबसाय मुलुकलाई जिवन्तता प्रदान गर्ने पाईपलाईन भएकाले उद्योगी व्यबसायीलाई संरक्षण गर्ने दायित्व आफूहरुको भएको बताउनु भयो ।

उद्योग व्यबसायको संरक्षण भएन या उनीहरु पारदर्शी भएनन् भने मुलुकको अर्थतन्त्र धराशायी हुने बताउँदै उहाँले उद्योग व्यबसायी सहित आम नागरिकको शान्ति सुरक्षामा आफू ढाल बनेर प्रस्तुत हुने उल्लेख गर्नुभयो । ‘सुरक्षा दिने मामलामा हाम्रो ढोका खुला छ ।’ उहाँले भन्नुभयो–‘चैनको निद्रामा सुत्न पाउनु पर्छ तर व्यबसायीले आफ्नो दायित्व भने भुल्नु हुँदैन ।’ उक्त कार्यक्रममा संघका अध्यक्ष समुन्द्र जिसीले संघले जारी गरेको आचार संहिता सहित मुल्य सूचि हुवहु कार्यान्वयन गर्न सदस्य व्यबसायीहरुलाई आग्रह गर्नुभयो ।