बुटवल, २४ भदौ । समाजवादी नेता तथा नेपाली काँग्रेसका संस्थापक बिपी कोईरालाले लिएको मार्गमा हिँड्न नसक्दा नेपाली काँग्रेसमा विचलन आएको शनिबार बुटवलमा आयोजित एक कार्यक्रम सहभागिहरुले बताएका छन् ।
प्रजातान्त्रिक बिचार समाज रुपन्देहीले महामानव बिपी कोईरालाको एक सय २ औं जन्मजयन्तीको अवसर परेर गरेको अन्तरक्रिया कार्यक्रममा बोल्नेहरुले बिपीका बिचारको मार्गमा हिड्नेहो भने पद्धतीलाई सिरोपर गर्नुपर्ने औंल्याए । उक्त कार्यक्रममा बोल्दै नेपाली काँग्रेस रुपन्देहीका सचिव रामकृष्ण खाँणले बिपीले दिएको समाजवादी सिद्धान्तलाई आत्मसाथ गर्ने तर पद्धतीलाई नमान्ने प्रबृत्तिले लोकतान्त्रिक शक्ति कमजोर बन्दै गएको उल्लेख गर्नुभयो ।लोकतन्त्रलाई मजबुद बनाउने हो भने बिपीले दिएका बिचार र मार्गदर्शनलाई आत्मसाथ गर्ने र पद्धतीलाई स्वीकार्ने प्रबृत्तिको बिकास गर्नुपर्ने बताउनु भयो ।
त्यस्तै नेपाली काँग्रेस रुपन्देही क्षेत्र नं. ४ का सभापति हरि लम्सालले नेपाली राजनीतिका संस्थापक समेत रहनुभएका बिपीको बिचार अहिले पनि सान्दर्भिक रहेको बताउँदै बिपीको बिचार र मार्ग दर्शन जिवन्त रहिरहने विश्वास व्यक्त गर्नुभयो । उहाँले बिपीको बिचारलाई भजाउने प्रबृत्तिको बिकास भएको उल्लेख गर्दै बिपीका नाममा हुने बिकृत्ति र विसंगती रोक्न पार्टीले केन्द्रबाटै पहल गर्नुपर्ने उल्लेख गर्नुभयो ।
समाजका अध्यक्ष रामराज पोख्रेलको अध्यक्षतामा भएको कार्यक्रममा बिपी अध्ययन प्रतिष्ठान रुपन्देहीका अध्यक्ष तथा नेपाली काँग्रेसका महाधिवेशन प्रतिनीधि युवराज गिरी, नेपाली काँग्रेस बुटवल नगर समितिका सभापति खेलराज पाण्डे, नेपाल शिक्षक युनियन रुपन्देहीका अध्यक्ष शोमनाथ गिरी, मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय सचिव गोविन्द खनाल, नेपाल प्रेस युनियन रुपन्देहीका सभापति बिक्रम खड्का, नेपाल शिक्षक संघ रुपन्देहीका अध्यक्ष कुलप्रसाद लामिछाने लगायतले बिपीका बारेमा भनाई राख्दै बिपीका बिचार र सिद्धान्त अहिले पनि उत्तिकै सान्दर्भिक रहेको उल्लेख गरेका थिए ।
कार्यक्रमको सञ्चालन सचिव डिल्लीनारायण पाण्डेयले गर्नुभएको थियो ।