मेरो जीवन बचाइदिनुस् : खिमलाल
बुटवल, २७ भदौ । एक वर्षदेखि मुटुको र ६ महिनादेखि अल्सरको उपचार गराइरहेका एक युवाको खुट्टामा रक्त संचार बन्द भएपछि उनी पीडामाथि पीडामा परेका छन् ।
बागलुङको पश्चिमी भेग निसी गाविस वडा नं. ३ रिनामका २५ वर्षिय खिमलाल जैसीको एक महिना अघि देब्रे खुट्टामा रक्त संचार बन्द भएपछि उनी उपचार गर्ने रकम अभावमा छट्पटाइ रहेका छन् । घरको आर्थिक अवस्था ज्यादै कमजोर भएका जैसीले भएको सम्पत्ति बेचेर तथा सहयोग जुटाएर गत माघमा मुटुको शल्यक्रिया गरेका थिए ।
शहीद गंगालाल हृदय केन्द्रमा मुटुको शल्यक्रिया गरेका जैसीलाई लगत्तै अल्सरको समस्या देखिएको र त्यसको उपचार गर्दागर्दै पुनः खुट्टामा रक्त संचार बन्द भएपछि उनी कसरी उपचार गर्ने भन्ने पिरलोमा छन् । ‘शुरुमा विमार पत्ता लगाउनै दुई वर्ष लाग्यो, रोग पत्ता लागेपछि मुटुको उपचारमा २०–२५ लाख खर्च भैसक्यो’ –जैसीले भावुक हुंदै गला अवरुद्ध पार्दै भने–‘ घरमा १० लाख भन्दा बढी ऋण तिर्न बांकी छ,अब फेरि ऋण कसैले पत्याउंदैनन्,भएको सम्पत्ति पनि बेचेर सकियो ।’
आफ्नो उपचारका लागि कपिलवस्तुको बैरियामा रहेको एउटा र निसीकै एउटा घडेरी बेचिसकेको र अब बेच्न मिल्ने सम्पत्ति केही नभएकाले उपचार गर्न कठीन भएको जैसीले दुखेसो पोखे । खुट्टामा बन्द भएको रक्त संचारलाई छिटो उपचार गरेर सुचारु नगराउने हो भने प्यारालाइसिस हुने वा खुट्टा नै काटेर फाल्नुपर्ने अवस्था आउने चिकित्सकले जानकारी गराएको जैसीले बताए ।
रक्त संचार सुचारु गर्ने उपचारका लागि २ देखि ३ लाख रुपैयां खर्च हुने अस्पतालले भनेको जैसी बताउंछन् । मुटुको र अल्सरको बांकी उपचार गर्न पनि अझै रकम चाहिने भएपनि तत्काल खुट्टामा रक्त संचार सुचारु गर्नुपर्ने भएकाले जैसीले सबैसंग आर्थिक सहयोगको याचना गरेका छन् ।
‘लाउं लाउं र खाउं खाउंको उमेरमा एकपछि अर्को विमार थपिदैं जांदा र घरको अवस्था सम्झिंदा पीडाले मन पोलिरहन्छ’–खिमलालले भावुक हुंदै भने–‘मेरो जीवन बचाइदिन सबैसंग अनुरोध गर्दछु ।’ उनले आफूलाई सहयोग गर्न चाहनेलाई प्रभु बैंकको खाता नं.०४२०१०००७०९८२००००००१ मा रकम जम्मा गरिदिन अनुरोध समेत गरेका छन् ।
अल्सर र खुट्टाको उपचार उनले मनमोहन मेमोरियल शिक्षण अस्पतालमा गराइरहेका छन् । खुट्टाको शल्यक्रियाका लागि रकम अभावमा डाक्टरसंग अपरेसनको डेट (मिति) लिन नसकेका जैसीले बताए । हाल दुखाई कम गर्ने औषधि खांदै कतैबाट आर्थिक सहयोग जुट्छ कि भनेर धाइरहेको जैसीले बताए । मुटु, अल्सर र खुट्टाको समस्याले सहयोग जुटाउन दौडधुप गर्न पनि नमिल्ने उनको समस्या छ । मुटुको शल्यक्रिया गरेकाले उनलाई पहाडको बाटोमा यात्रा गर्न र धेरै हिंड्न मिल्दैन ।
घरको जेठो सन्तान खिमलालका आफूमुनि ३ भाई र ४ बहिनी तथा आमा र बुबा छन् । पहाडमा रहेका बुबा आमा साना बालबच्चा छाडेर आउन नमिल्ने भएकाले खिमलाल शंकरनगरमा आफन्तकोमा बसेका छन् ।
ठूलो परिवार भएकाले खेती किसानीले वर्षभरि खान पनि धौधौ हुने र अन्य आयस्रोत नभएकाले कसरी उपचार गर्ने भन्ने चिन्ता मनमा छाइरहने जैसी बताउंछन् । मुटुको विमार भएपछि खिमलालले कक्षा ११ मा पढ्दापढ्दै पढाई छोड्न वाध्य भए । ‘के गर्ने पढ्ने रहर त थियो तर पढाई भन्दा पनि बांच्ने कुरा ठूलो भयो, कोही मन र धनको धनी भेटिए बांच्छु कि भन्ने आशा छ’–कुराकानीको बीट मार्ने क्रममा गहभरि आंशु ल्याएर खिमलालले भने ।