बुटवल, २९ भदौं । प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश बस्नेतले पत्रकारिताको केन्द्र काठमाण्डौंमा मात्रै सीमित नभएको बताएका छन् । पत्रकारिता क्षेत्रको आन्दोलनका मोर्चाहरुमा मोफसलले महत्वपूर्ण योगदान गरेको भन्दै उनले राजधानी र मोफसललाई समान दृष्टिले हेरिनुपर्ने बताए ।
बुटवल मिडिया प्रकाशन प्रा.लि.ले बुधबार कार्यालयमा आयोजना गरेको सम्मान कार्यक्रममा उनले मोफसलका मिडियाको स्तरोन्नतीले देश विकासमा टेवा पुग्ने बताए । अहिले काठमाण्डौंका ठूला मिडिया केन्द्रीत बनेको विज्ञापन नीतिलाई परिमार्जन गर्दै मोफसलका मिडियामा समेत आउने नीति बनाउन प्रेस चौतारीले अभियान चलाइरहेको उनले बताए ।
स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै महासचिव राजेश राईले मोफसलको पत्रकारिताले नै संविधान कार्यान्वयनमा महत्वपूर्ण भूमिका खेल्ने बताए । महासचिव राईले मोफसलका मिडियाको विकासले श्रमजिवी पत्रकारहरु सक्षम भएर बाँच्न सक्ने भन्दै त्यो एजेण्डा चौतारीले उठाएको बताए ।
कार्यक्रममा बुटवल मिडिया प्रकाशन प्रालिका कार्यकारी प्रमुख तथा प्रधान सम्पादक एवं प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय अध्यक्ष वालकृष्ण चापागाईंले नवनिर्वाचित अध्यक्ष तथा महासचिवलाई बधाई तथा शुभकामना दिदैं मिडिया र पत्रकारहरुको हितमा काम गर्न यो नेतृत्व सक्षम हुने विश्वास व्यक्त गरे ।
आफूले प्रेस चौतारीको नेतृत्व गरेको वेला महत्वपूर्ण सहयोग गरेको स्मरण गर्दै अहिले नेतृत्वमा पुगेकोमा उनले खुसी व्यक्त गरे । उनले पत्रकारिताको आन्दोलनका घटनाहरुको अनुभव समेत सुनाए ।
प्रेस चौतारीको नवौं अधिवेशनमा निर्वाचित भए पछि अध्यक्ष बस्नेत र महासचिव राईको पहिलो जिल्ला भ्रमण हो । बुटवल मिडियाका प्रधानसम्पादक बालकृष्ण चापागाईं र बरिष्ठ सम्पादक डीआर घिमिरेले अध्यक्ष, महासचिव, सचिव भरत केसी र केन्द्रीय सदस्यमा निर्वाचित प्रदीप आचार्यलाई सम्मान गरेका थिए ।