मणिग्राम, ५ असोज । रूपन्देहीको मणिग्रामस्थित राममणि बहुमुखी क्याम्पस प्राङ्गणमा सञ्चालित जिल्लास्तरीय बास्केटबल प्रतियोगिता आज सम्पन्न भएको छ ।
प्रतियोगितामा बुटवलको जी–रोलर्स विजयी र आयोजक फ्लायर्स ग्रुप बी समूह उपविजयी भएका थिए । “अलुम्नाई एशोसिएशन आर.एम.सी. कप” नाम दिइएको सो खेलका फाइनल प्रतियोगिताका विजयी तथा उपविजयीलाई पनि आजै एक कार्यक्रमबीच पुरस्कृत गरिएको छ ।
तिलोत्तमा नगरपालिकास्थित फ्लायर्स गु्रप र राममणि बहुमुखी क्याम्पसका पूर्व विद्यार्थीहरूको समाज अलुम्नाई एशोसिएशन राममणि बहुमुखी क्याम्पसल सञ्चालन गरेको प्रतियोगिताका विजयीलाई पन्ध्र हजार रूपियाँ नगद तथा उपविजयीलाई दश हजार नगद सहित पुरस्कृत गरिएको थियो ।
अलुम्नाई एशोसिएशनका अध्यक्ष गणेश पाठकको सभापतित्व तथा राममणि बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख मोहनराज शर्माको प्रमुख आतिथ्यमा विजयी तथा उपविजयीलाई पुरस्कार, प्रशंसापत्र तथा तक्मा प्रदान गरिएको थियो ।
चुडामणि बस्यालको विशिष्ट आतिथ्यमा भएको समापनमा कार्यक्रम संयोजक फ्लायर्स ग्रुपका विक्रम थापा, रूपन्देही बास्केटबल एशोसिएशनका सचिव बुद्धि बस्याल, नेविसंघ क्याम्पस एकाई अध्यक्ष चिरञ्जिवी बस्याल लगायतले बोल्नुभएको थियो ।
विभिन्न डेढ दर्जन समूहले भाग लिएको सो प्रतियोगिता गत भदौ ३० गते समाजसेवी एवम् राममणि बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष रोमणीप्रसाद पाठकले उद्घाटन गर्नुभएको थियो ।