तीन दलले चाहे मधेस क्षणभरमै शान्तः भट्टराई

1.3K

तीन दलले चाहे मधेस क्षणभरमै शान्तः भट्टराई

दाङ,असोज १९/पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले प्रमुख दलका नेताहरुको तानाशाही प्रवृतिले मुलुक अस्तव्यस्त बनेको आरोप लगाएका छन्। मंगलबार लमहीको सार्वजनिक बगैचामा आयोजित आमसभालाई सम्बोधन गर्दै भट्टराईले तीन दलको तानाशाही प्रवृतिकै कारण तराई मधेशमा हिंसा भड्किएको बताए।

भट्टराईले भने ‘सिंगो तराई मधेश, थारू,आदीवासी जनजाति आन्दोलित भएको बेला दलीय नेतृत्व सत्ता लुचाचुँडीमै रमाउनु विडम्वना हो।’ उनले पहिला तराई मधेशमा भइरहेको आन्दोलन मत्थरपारेर पनि सरकार गठनको प्रकृया शुरु गर्न सकिने तर्क प्रस्तुत गरेका थिए। ‘सीमांकनको विवाद टुंग्याउन निकै कठिन छ भनिएको छ। यसमा कुनै सत्यता छैन’, भट्टराईले भने,‘शीर्ष नेतृत्वले चाहेमा सीमांकनको मुद्दा क्षणभरमै टुंगिन्छ।’ उनले सीमांकनको मुद्दा टुंग्याउने कि नटुंग्याउने तीन दलीय नेतृत्वको इच्छा शक्तिमा निर्भर रहेको दाबी गरे ।

शीर्ष नेतृत्वले चाहेको खण्डमा तराई मधेशको आन्दोलन क्षणभरमै रोकिने बताएका उनले सीमांकनमा कुनै विवाद नै नरहेको दाबी गरे। आमसभालाई सम्वोधन गर्दै उनले आफूले पार्टी त्याग गरेकै समयमा भारतको नाकावन्दी शुरु भएपनि त्यसमा यी दुई सन्दर्भको कुनै साइनो नरहेको प्रष्ट्याउन खोजेका थिए । उनले भने ‘ त्यो संयोग मात्र हो, मैले पार्टी मात्रै त्याग गरेको हो तर नेपाली नागरिकता होइन।’

असल छिमेकी भारतले नाकाबन्दी गर्नु गलत भएको भन्दै भट्टराईले नाकाबन्दी तत्काल फुकुवा गर्न भारत सरकारलाई आग्रह पनि गरेका छन्। ‘भारतले अन्तर्राष्ट्रिय पारबहान सन्धी मिचेर नाकाबन्दी गरेको छ। यो तत्काल खारेज गर्नुपर्दछ। यदि नाकाबन्दी खुलाउनतर्फ भारतले चासो दिएन भने नाकाबन्दीको सामना सबै नेपालीहरु मिलेर गर्नुपर्दछ।’

पटकपटक हुने भारतीय नाकाबन्दीबाट पाठ सिकेर नेपालीहरुले पनि अब नयाँ योजना अघि सार्नुपर्ने भट्टराईले सुझाए। उनी आफ्नी पत्नि हिसिला यमीका साथ पश्चिम नेपालको भ्रमणमा निस्किएका छन् ।