नेपालीहरूको महान् पर्व बडादशैं आजदेखि सुरु भएको छ । दशैंको पहिलो दिन आज घरघरमा वैदिक विधिअनुसार घटस्थापना गरी जमरा राखिँदै छ ।
नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको घटस्थापनाको उत्तम साइत बिहान ११ बजेर ४७ मिनेटलाई निर्धारण गरेको छ । समितिका अध्यक्ष सहप्राध्यापक डा. पुरुषोत्तम भट्टराईका अनुसार आज दिनभर चित्रा नक्षत्र पर्ने भएकाले शास्त्रीय मान्यताअनुसार मध्याह्नकालको अभिजित् मुहूर्तमा घटस्थापनाको साइत तय गरिएको हो ।
सूर्योदयकालमा प्रतिपदा परेको दिन घटस्थापना गर्नुपर्ने शास्त्रीय मान्यताअनुसार आजकै दिन घटस्थापना गर्ने निर्णय गरिएको उनले बताए । सामाजिक सञ्जालमा घटस्थापना सोमबार गर्नुपर्ने भन्दै फैलाइएको चर्चा शास्त्रसम्मत नभएको पनि उनले स्पष्ट पारे ।
हरेक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म बडादशैं श्रद्धा, भक्ति र उल्लासका साथ मनाइन्छ । घटस्थापनाका दिन घरको पूजाकोठा वा दशैंघरमा दियो, कलश र गणेश स्थापना गरी दुर्गा भवानीको पूजा आराधना गरिन्छ । गाईको गोबरले लिपपोत गरिएको शुद्ध स्थानमा पवित्र नदी वा चोखो ठाउँबाट ल्याइएको बालुवा अथवा माटोमा जौ छरेर जमरा राख्ने परम्परा छ ।
जौको अंकुरलाई दुर्गा भवानीको प्रिय वस्तु मानिने भएकाले जमरा देवीलाई अर्पण गरिन्छ । विजयादशमीका दिन टीका र प्रसादसँगै पहेँलो जमरा ग्रहण गर्ने चलन छ । जमरालाई समृद्धि, शुभता र विजयको प्रतीकका रूपमा लिइन्छ ।
नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष रामचन्द्र गौतमका अनुसार शास्त्रीय विधिअनुसार जौकै जमरा राख्नुपर्ने व्यवस्था छ । कतिपयले गहुँ र मकैको जमरा राख्ने गरे पनि अन्य अन्नको जमरा राख्ने शास्त्रीय विधि नरहेको उनी बताउँछन् ।
नवरात्रभर दुर्गाका नौ रूपको पूजा
घटस्थापनादेखि विजयादशमीसम्मको अवधिलाई नवरात्र भनिन्छ । यस अवधिमा दुर्गा भवानीका नौ स्वरूपको क्रमशः पूजा आराधना गरिन्छ । नवरात्रको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा गर्ने परम्परा छ ।
दशैंको सातौँ दिन फूलपाती भित्र्याइन्छ । महाअष्टमी र महानवमीमा दशैंघर, कोत तथा शक्तिपीठमा विशेष पूजा गरिन्छ । परम्पराअनुसार बलि दिने स्थानमा बलिसहित पूजा आराधना पनि गरिन्छ ।
नवरात्रका अवसरमा दुर्गा सप्तशती, चण्डी, श्रीमद्देवीभागवतलगायत धार्मिक ग्रन्थको पाठ तथा देवी स्तोत्र र स्तुतिहरू वाचन गरिन्छ । यस अवधिमा देशभरका देवी मन्दिर तथा शक्तिपीठमा भक्तजनको घुइँचो लाग्ने गर्छ ।
बडादशैंलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयका रूपमा मनाउने गरिन्छ । धार्मिक तथा सांस्कृतिक मान्यताअनुसार यो पर्वले अन्यायमाथि न्याय, अधर्ममाथि धर्म र नकारात्मक शक्तिमाथि सकारात्मक शक्तिको विजयको सन्देश दिन्छ ।
यस वर्षको विजयादशमी अर्थात् दशैंको टीका कात्तिक ४ गते परेको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले टीका लगाउने उत्तम साइत त्यस दिन बिहान १० बजेर २६ मिनेटलाई निर्धारण गरेको छ ।