गोरखाको चुमनुब्री गाउँपालिका हुँदै बग्ने बूढीगण्डकी नदीमा आइतबार बिहान आएको आकस्मिक बाढीले विभिन्न बस्तीमा क्षति पुर्याएको छ । बाढीले घर, पुल तथा निर्माणाधीन जलविद्युत् आयोजनाको क्याम्प बगाएको छ भने केही बस्तीका घरमा पानी पसेको छ । चार जना स्थानीय सम्पर्कविहीन भएका छन् ।
बाढीले चुमनुब्री गाउँपालिकाका सिर्दिबास, घट्टेखोला, जगत, सल्लेरीलगायतका क्षेत्र प्रभावित भएका छन् । धार्चे गाउँपालिकाको माछाखोला र आसपासका बस्तीमा समेत क्षति पुगेको छ । नदीको बहाव अनियमित बनेपछि तटीय क्षेत्रका बासिन्दा त्रसित भएका छन् । सम्भावित जोखिमलाई ध्यानमा राख्दै आरुघाट बजारका बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ ।
चुमनुब्री गाउँपालिका–६ चुम्चेतस्थित उङ्गिलुङ खोला किनारको गोठमा रहेका चार जना स्थानीय आइतबार बिहानदेखि सम्पर्कविहीन भएका छन् । उनीहरू गोठमै बस्दै आएका थिए । स्थानीयका अनुसार उनीहरूको खोजी भइरहेको छ । गोठसमेत देख्न नसकिएको बताइएको छ ।
आइतबार बिहान उङ्गिलुङ र स्यार खोलातर्फ ठूलो आवाज सुनिएपछि स्थानीय बासिन्दा तथा पर्यटक सुरक्षित स्थानतर्फ लागेका थिए । चुमनुब्री–६ को लोक्पा र चुम्लिङबीच स्यार खोलामा पहिरो खसेर खोला थुनिएको र त्यसपछि बाढी आएको हुन सक्ने प्रारम्भिक अनुमान छ । चुम्चेतस्थित उङ्गिलुङ खोलामा पहिरो खसेको हुन सक्ने पनि बताइएको छ ।
यद्यपि, बाढी आउनुको वास्तविक कारण पुष्टि भइसकेको छैन । घटनास्थलको अवस्था र क्षतिको पूर्ण विवरणसमेत संकलन हुन बाँकी छ ।
चुमनुब्री गाउँपालिका-३ अन्तर्गत सल्लेरी, पैयुँ र जगत बगरका १० भन्दा बढी घर बाढीले बगाएको वडाध्यक्ष रामकुमार गुरुङले बताएका छन् । प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रका अनुसार जगत क्षेत्रमा मात्रै बगरमा रहेका पाँचदेखि सातवटा घर बगेका छन् ।
सोही गाउँपालिकाको घट्टेखोला क्षेत्रमा पनि घरहरू बगाएको उपाध्यक्ष लक्ष्मी गुरुङले जानकारी दिएकी छन् । सिर्दिबासका स्थानीय रामबहादुर गुरुङको एउटा कच्ची घर बगेको र अर्को घरमा बाढी पसेको विवरण प्राप्त भएको छ ।
बाढीले चुमनुब्री–३ अन्तर्गत न्याक्चेत र सिर्दिबास जोड्ने पुरानो झोलुङ्गे पुलसमेत बगाएको छ । धार्चे गाउँपालिका–५ को माछाखोलाबाट केरौँजा जोड्ने झोलुङ्गे पुल पनि बाढीले बगाएको छ । माछाखोलाको तल्लो बस्तीमा रहेका पाँचदेखि सातवटा घर र त्यति नै संख्यामा रहेका टहरामा बाढी पसेको प्रहरीले जनाएको छ ।
यसैगरी, धादिङ र गोरखा जोड्ने आरुघाटस्थित बूढीगण्डकी नदीमाथिको सोती पुल बाढीले बगाएको छ । आरुघाट गाउँपालिका–२ र ३ जोड्ने उक्त फलामे पुल बगाएपछि आवतजावतमा समेत असर परेको छ ।
धार्चे गाउँपालिका–३ सल्लेरीका २० देखि २२ वटा घर जोखिममा रहेको बताईएकाे छ ।
बाढीले चुमनुब्री गाउँपालिका-३ सल्लेरीमा निर्माणाधीन ३४१ मेगावाट क्षमताको अर्धजलाशययुक्त बूढीगण्डकी जलविद्युत् आयोजनाको निर्माणस्थलमा समेत क्षति पुर्याएको छ । बाढीले आयोजनाको क्याम्प र केही उपकरण बगाएको छ ।
साहस ऊर्जा लिमिटेडको सहायक कम्पनी टाइम्स इनर्जी प्रालिले निर्माण गर्ने उक्त आयोजनाको अनुमानित लागत ७० अर्ब रुपैयाँ छ । आयोजनामा नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको नेतृत्वमा १० बैंक तथा वित्तीय संस्थाले संयुक्त रूपमा ५२ अर्ब ५० करोड रुपैयाँ ऋण लगानी गर्ने व्यवस्था गरिएको छ ।
बूढीगण्डकीमा लेदो र गेग्रानसहितको बाढी आएपछि आरुघाट बजार र नदी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ । प्रहरीले प्रभावित क्षेत्रका बासिन्दालाई माइकिङमार्फत सतर्क रहन र नदी किनारबाट टाढा बस्न आग्रह गरेको छ ।
गृहमन्त्री सुधन गुरुङका अनुसार प्रभावित क्षेत्रमा उद्धार, राहत तथा जोखिममा रहेकालाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न हेलिकप्टर परिचालन गरिएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीय प्रशासनलाई पनि उद्धार तथा राहतका लागि खटाइएको उनले बताएका छन् ।
बाढीको प्रभाव बूढीगण्डकीको तल्लो तटीय क्षेत्रमा समेत पर्न सक्ने भएकाले त्रिशूली नदी किनारका बासिन्दालाई पनि सतर्कता अपनाउन आग्रह गरिएको छ ।
यसैबीच, चुमनुब्री–३ सिर्दिबास क्षेत्रमा नदीको बहाव निकै घटेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण सापकोटाले बताएका छन् । नदीको बहाव अस्वाभाविक रूपमा घटेपछि पुनः खोला थुनिएको हुन सक्ने आशंका गरिएको छ ।
बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको पूर्ण विवरण प्राप्त भइसकेको छैन । सम्पर्कविहीन चार जनाको अवस्था, बाढीको वास्तविक कारण र थप क्षतिको विवरण यकिन गर्न बाँकी छ ।