दशैं, तिहार र छठलगायतका चाडपर्वलाई लक्षित गर्दै नेपाल प्रहरीले देशभर ५० हजारभन्दा बढी प्रहरी परिचालन गरेको छ । चाडपर्वका बेला हुन सक्ने चोरी, लुटपाट, ठगी, जुवातास तथा अन्य आपराधिक गतिविधि नियन्त्रण गर्नुका साथै नागरिकको जनधनको सुरक्षा सुनिश्चित गर्न प्रहरीले विशेष सुरक्षा योजना लागू गरेको हो ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं डीआईजी अविनारायण काफ्लेका अनुसार सुरक्षा योजनाअन्तर्गत देशभर ५० हजार ४५८ प्रहरी परिचालन गरिनेछ । चाडपर्वका बेला धार्मिक तथा सांस्कृतिक कार्यक्रम, बजार, सार्वजनिक यातायात र आवतजावतमा हुने भीडभाडलाई ध्यानमा राखेर सुरक्षा व्यवस्था मिलाइएको उनले बताएका छन् ।
सुरक्षा योजनाअन्तर्गत सातै प्रदेशका प्रहरी कार्यालयमार्फत जनशक्ति परिचालन हुनेछ । उपत्यका प्रहरी कार्यालयअन्तर्गत ७ हजार ६६८, कोशी प्रदेशमा ८ हजार १३३, मधेश प्रदेशमा ७ हजार २३०, बागमती प्रदेशमा ४ हजार ४९९, गण्डकी प्रदेशमा ५ हजार १८८, लुम्बिनी प्रदेशमा ७ हजार ९२१, कर्णाली प्रदेशमा ५ हजार ३१४ र सुदूरपश्चिम प्रदेशमा ४ हजार ५०५ प्रहरी परिचालन गरिनेछ ।
सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन स्थानीय समुदाय, व्यवसायी, यातायात व्यवसायी, बैंक तथा वित्तीय संस्था र अन्य सरोकारवाला निकायसँग समन्वय गरिने प्रहरीले जनाएको छ ।
प्रहरीले चाडपर्वका अवसरमा नागरिकको स्वतन्त्रता, धार्मिक तथा सांस्कृतिक आस्था र अधिकारको सम्मान गर्दै महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति तथा ज्येष्ठ नागरिकको सुरक्षालाई पनि प्राथमिकतामा राखेको जनाएको छ ।
चाडपर्वका बेला ठगी, चोरी, डकैती, लुटपाट, जुवातास, अनलाइन ठगी, बेटिङ, नक्कली नोटको कारोबार तथा अवैध हुण्डी कारोबारजस्ता गतिविधि बढ्न सक्ने प्रहरीको विश्लेषण छ । यस्ता अपराधिक गतिवपधि नियन्त्रण गर्न विशेष निगरानी र योजनाबद्ध प्रहरी परिचालनको व्यवस्था गरिएको प्रवक्ता काफ्लेले बताए ।
काठमाडौं उपत्यकाबाट बाहिरिने सार्वजनिक सवारीसाधनमा चालकको अनुमतिपत्र, मादक तथा लागुपदार्थ सेवन, सिट क्षमताअनुसार यात्रु राखे-नराखेको र लामो दूरीका सवारीमा दुई जना चालक भए-नभएको जाँच गरिनेछ । सवारीसाधनको यान्त्रिक परीक्षण गरिएको प्रमाणपत्रसमेत जाँच गरिने प्रहरीले जनाएको छ ।
चाडपर्वको सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउन सीसीटीभी, बडीवर्न क्यामेरा, ड्रोन र तालिमप्राप्त कुकुरसमेत परिचालन गरिनेछ । प्रहरीले सञ्चार प्रणालीमार्फत तत्काल सूचना आदानप्रदान गर्नुका साथै सामाजिक सञ्जालमा प्रवाह हुने सूचनाको निगरानी गर्नेछ । बैंक तथा वित्तीय संस्था, बसपार्क, सार्वजनिक यातायात केन्द्र, विमानस्थल, धार्मिक तथा पर्यटकीय स्थल, मनोरञ्जन स्थल, मुख्य सडक, चोक, सहरका प्रवेश तथा निकास नाका र सुनचाँदी तथा बहुमूल्य वस्तुको कारोबार हुने क्षेत्रलाई विशेष निगरानीमा राखिनेछ ।
यसैबीच, चाडपर्वका अवसरमा आकर्षक उपहार तथा छुटको प्रलोभन देखाएर हुन सक्ने अनलाइन सपिङ ठगी, बैंकिङ ठगी र फिसिङजस्ता डिजिटल अपराधबाट सचेत रहन प्रहरीले नागरिकलाई आग्रह गरेको छ । कसैले माग्दैमा आफ्नो ओटीपी, पिन नम्बर, पासवर्डलगायतका गोप्य विवरण उपलब्ध नगराउन र शंकास्पद गतिविधिबारे तत्काल प्रहरीलाई जानकारी गराउन प्रहरीले अनुरोध गरेको छ ।