मंसिरमा तिलोत्तमा औद्योगिक व्यापार मेलाको तयारी

1.3K

मंसिरमा तिलोत्तमा औद्योगिक व्यापार मेलाको तयारी

रुपन्देहीको तिलोत्तमा नगरपालिकामा आगामी मंसिरमा औद्योगिक व्यापार मेलाको तयारी गरिएको छ । तिलोत्तमा उद्योग वाणिज्य संघको आयोजनामा आगामी मंसिर ३ देखि १६ गतेसम्म चौंथो औद्योगिक व्यापार मेला, कृषि, प्रविधि एवम् पर्यटन प्रवद्र्धन महोत्सव–२०८३ गर्न लागिएको हो ।
संघले आइतबार पत्रकार सम्मेलन गरेर औद्योगिक व्यापार मेला आयोजनाको बारेमा जानकारी गराएको हो । पत्रकार सम्मेलनमा संघका अध्यक्ष ज्ञानेन्द्र कार्कीले औद्योगिक, तथा स्थानीय उत्पादनको प्रवद्र्धन गरि आर्थिक गतिविधिलाई बढवा दिनको लागि मेला आयोजना गर्न लागिएको बताए ।
१४ दिन सम्म सञ्चालन हुने मेलामा करिव ३५० स्टल रहने छन् । त्यस्तै मेलामा ४ करोड बढीको आर्थिक कारोवार हुने लक्ष्य लिईएको पनि उनले बताए । मेलामा जलवायु परिवर्तन र यसले पारेका प्रभावका बारेमा जनचेतना मुलक कार्यक्रम गरिनेछ । त्यसैगरी विद्यार्थीलाई उद्यमी बन्न प्ररणा प्रदान गर्ने कार्यक्रम सञ्चालन गरिनेछ । हरेक दिन सफल उद्यमीका प्रेरणादायी मन्तव्य रहनेछ ।
त्यसैगरी हरेक दिन नै छुट्टाछुट्टै विषयमा प्यानल डिस्कसन गरिनेछ । मेलामा श्रम डेस्क राखिनेछ भने श्रम अडिट समेत गर्ने कार्यक्रम तय गरिएको अध्यक्ष कार्कीले जानकारी गराए ।
पत्रकार सम्मेलनमा संघका निवर्तमान अध्यक्ष गुणनिधी भण्डारीले संघले विगतमा तीन वटा औद्योगिक मेला सफलतापूर्वक सम्पन्न गरिएको जानकारी गराउँदै मंसिरमा तय गरिएको औद्योगिक व्यापार मेला पनि सफलतापूर्वक सम्पन्न गर्नका लागि संघको सिंगो टिम लागि परेको जानकारी गराए ।