किसान अनुदानबाट वञ्चित

641

किसान अनुदानबाट वञ्चित

sugar-cane

कपिलवस्तु, ६ असोज । सरकारले दिने रु दुई करोड ५० लाख अनुदान रकम जिल्लाका उखु किसानले पाउन सकेका छैनन् ।

गत वर्ष जिल्लाको जवभारीस्थित महालक्ष्मी सुगर्स प्रालि र किसानबीच विवाद हुँदा सरकारले किसानलाई सो रकम अनुदान स्वरुप दिने निर्णय गरेको थियो ।

सरकारले तोकेबमोजिम रकम मिलले नदिएपछि किसान र मिल सञ्चालकबीच विवाद भएको थियो । सरकारले प्रतिक्विन्टल उखुको मूल्य रु ४६१ दिने निर्णय गरेको थियो । जिल्लामा मिल सञ्चालकले प्रति क्विन्टल रु ४३६ मात्र दिएका थिए । बाँकी रु २५ सरकारले दिने सम्भmौता भएको हो ।

किसानलाई एक वर्ष बित्दासमेत सरकारले रकम उपलब्ध गराएको छैन । किसान सङ्घका जिल्ला अध्यक्ष अनुपकुमार चौधरीले
पाँच हजार किसानले अनुदान रकम नपाएको बताउनुभयो । पटक पटक सरकार र मिल सञ्चालकलाई अनुरोध गर्दा समेत कुनै सुनवाइ भएको छैन ।

कृषि मन्त्रालयमा धाउँदा समेत कहिले अर्थ मन्त्रालयबाट रकम निकासा नभएको त कहिले मिल मालिकले कागजपत्र नपठाएको भन्दै दुःख दिने काम मात्र भएको पीडित किसान रामकिशोर चौधरीले बताउनुभयो । किसानको १०० देखि पाँच हजार क्विन्टल उखुको अनुदान रकम पाएका छैनन् ।

महालक्ष्मी सुगर्स प्रालिका प्रबन्धक हरिनारायण चौधरी कागजपत्र ढिलो पठाएको स्वीकर गर्दै चाँडै नै रकम निकासाका लागि पहल गर्ने बताउनुभयो ।