क्रिकेटको उपाधी कुमारवर्तीलाई

1.3K

क्रिकेटको उपाधी कुमारवर्तीलाई

kumarwarti-frist-priseबुटवल, ८ असोज । रुपन्देहीको देवदहमा सम्पन्न  जिल्ला स्तरीय अन्तर विद्यालय नकआउट क्रिकेट प्रतियोगिताकोे उपाधी कुमारवर्ति ईङ्गलिस बोर्डिङ्ग स्कुल शिवपुरले हात पारेको छ । कुमारवर्तिले रामापुर रिभाईभल्स सैनामैनालाई ८ विकेटले हराउदै उपाधी चुम्न सफल भएको हो ।  उपाधीसँगै कुमारवर्तिले नगद २० हजार शिल्ड तथा प्रमाणपत्र प्राप्त गरेको छ भने उप विजेता बनेको रामापुरले १२ हजार नगद, शिल्ड तथा प्रमाण पत्रमा चित्त बुझाएको छ ।

शनिबार भएको फाईनल खेलमा रामापुरले पेश गरेको ३९ रनको लक्ष्य पच्छाएर मैदानमा उत्रिएको कुमारवर्तिले ७ दशमलव १ ओभरको खेलमा दुई विकेट गुमाएर लक्ष्य भेटाएको हो । त्यस अघि ब्याटिङ्ग गरेको रामापुरले ११ ओभरको खेलमा सबै विकेट गुमाएर ३८ रन मात्र जोडेको थियो । खेलमा कुमारवर्तिका पारस केसि उत्कृष्ट ब्याट्समेन, कुमारवर्तिकै अजय यादव उत्कृष्ट बलर तथा म्यानआफ दि सिरीज र ग्रिनप्लान्ट बोर्डिङ्गका शंकर भूर्तेल उदयमान खेलाडिका रुपमा पुरस्कृत भएका छन् ।

विजयी टिम तथा खेलाडीहरुलाई पुरस्कार वितरण गर्दै नेपाली कांग्रेस रुपन्देहीका सभापति तथा सांसद अब्दुल रज्जाकले रुपन्देही क्षेत्र नम्बर एकमा खेल क्षेत्रको विकासका लागि आफुले सक्दो योगदान दिने उल्लेख गर्दै क्षेत्र नम्वर एकको खेल र खेलमैदानको पुर्वाधार निर्माणका लागि पहल थाल्ने आश्वासन दिनुभयो ।

प्रतियोगिता आयोजक क्लव देवदह क्रिकेट युनिटका अध्यक्ष रवी रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला क्रिकेट संघ रुपन्देहीका अध्यक्ष प्रशान्त विक्रम मल्ल, नेपाल भारत मैत्री समाजका उपाध्यक्ष बासुदेव रिमाल लगायतले क्रिकेटको संभावना धेरै भएकाले यसको विकासका लागि सबैको सहयोग आवश्यक रहेको बताउनुभयो ।

उक्त कार्यक्रममा प्रतियोगिता सफल बनाउन मिडियाको तर्फदेखि उल्लेखनीय भूमिका खेलेको भन्दै पत्रकार झविन्द्र देवकोटालाई सम्मान गरिएको थियो । यस्तै प्रतियोगिता सम्पन्न पार्न आर्थिक सहयोग गर्ने मुख्य प्रायोजक सगरमाथा आवासिय उच्च मावि, होटल हेरिटेज, रेड मार्टिन लगायतका संस्थाहरुलाई पनि सम्मान गरिएको खेल संयोजक अजय थापा मगरले जानकारी दिनुभयो । प्रतियोगितामा रुपन्देहीका निजी र  सामुदायिक गरि ३२ टिमले सहभागिता जनाएका थिए ।