स्वास्थ्य मन्त्रालय गुहार्दै सरोगेसी बच्चा बोकेका विदेशी

583

स्वास्थ्य मन्त्रालय गुहार्दै सरोगेसी बच्चा बोकेका विदेशी

oooooooooकाठमाडौं,असोज ।नेपालमा अवैध रहेको सरोगेसी प्रविधि (भाडाको कोख)बाट जन्मेका करिब १५ भन्दा बढी बच्चा लिएर केही विदेशी आज स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा देखिए ।

‘सरोगेसी’ दलालमार्फत नेपालमै कोख भाडामा लिएर सन्तान जन्माएका उनीहरुले सन्तान लिन नपाएपछि स्वास्थ्य मन्त्रालय गुहार्न थालेका हुन् ।

यसअघि सरोगेसीमार्फत जन्माएका यस्ता शिशु गुपचुपमै विदेश पुर्‍याइने गरेको समाचार बाहिर आएपछि सरकारले कडाइ गरेको हो ।

सर्वोच्च अदालतले यो कार्य सञ्चालन नगर्न अन्तरिम आदेश जारी गरेको र मन्त्रिपरिषद्ले कार्यविधिसमेत बनाउन बदर गरेपछि अस्पतालदेखि विमानस्थलसम्म रहेको सरोगेसी दलालको अवैध सञ्जाल हाल भत्किएको बताइएको छ ।

ती विदेशीले मन्त्रालयमा गएर नेपालका अस्पतालबाटै आफूले शिशु जन्माएको भन्दै आफ्नो देश लैजाने व्यवस्था गरिदिन आग्रह गरेका थिए ।

करिब डेढ/दुई महिनाका जस्ता कलिला शिशु बोकेर स्वास्थ्य तथा मन्त्रालय पुगेका तीनजना विदेशी नागरिकले स्वास्थ्यमन्त्री खगराज अधिकारीलाई भेटेर बच्चा लैजाने व्यवस्था मिलाइदिन आग्रह गरे ।

मन्त्री अधिकारीले ती विदेशीलाई नेपालमा सरोगेसी सेवा अदालतले अवैध भनेको गरेको अवस्थामा आवश्यक छलफल नगरी केही गर्ने अवस्था नरहेको बताएको मन्त्रालयका एक कर्मचारीले जानकारी दिए ।

धेरैजसो विदेशीले सञ्चारकर्मीलाई सूचना लुकाउन खोजी रहेका थिए । कतिले त तस्बिर सङ्कलन गर्न खोजेका पत्रकारलाई गाली गर्न पनि भ्याए ।

परिचय दिन नमानेका बच्चा बोकेका एक विदेशीले भने, ‘भारतीय महिलाको कोख भाडामा लिएर ग्राण्डी इन्टरनेसनल अस्पतालमा बच्चा जन्माएका हौँ । यी शिशुलाई लैजाने व्यवस्था जसरी नि सरकारले गरी दिनुपर्‍यो ।’