आलु उत्पादनको क्षेत्रफल घट्दै

336

आलु उत्पादनको क्षेत्रफल घट्दै

potato

ललितपुर, ३ मङ्सिर । आलुको उत्पादकत्व कम नभए पनि आलु उत्पादन हुने क्षेत्रफल घट्दै गएको छ ।

सानो परिमाणमा आलुखेती गर्ने किसानको सङ्ख्या घट्दा आलुखेती गरिने क्षेत्रफल घट्दै गएको राष्ट्रिय आलुबाली विकास कार्यक्रमले जनाएको छ । मध्यपहाडी जिल्लामा आलुको उत्पादन घटेको वरिष्ठ आलु विकास अधिकृत श्यामप्रसाद ढकाल बताउनुहुन्छ ।

“पहिले आलुखेती हुने जग्गा अहिले आएर बाँझो भइरहेको छ,” उहाँले भन्नुभयो । पहाडी जिल्लाका ग्रामीण क्षेत्रमा बसोबास गर्दै आएका युवा अहिले सदरमुकाम वा विदेश जाँदा गाउँमा ज्येष्ठ नागरिकमात्रै बाँकी रहेका छन् । गाउँमा युवा नहुँदा खेती हुने जग्गा बाँझोमा परिणत हुँदै गइरहेको छ ।

तीन वर्ष पहिलेसम्म देशभरमा दुई लाख पाँच हजार हेक्टर क्षेत्रफलमा आलुखेती गरिएको थियो । तर अहिले एक लाख ९० हजार हेक्टरमा मात्र आलुखेती गरिएको छ । आलुखेती हुने क्षेत्रफल कम भए पनि उत्पादनमा भने कमी नआएको ढकालको भनाइ छ ।

ठूलो परिमाणमा व्यावसायिक आलुखेती गर्ने किसानको सङ्ख्या बढ्दो छ । “व्यावसायिक रुपमा आलुखेती गर्नेको सङ्ख्या बढ्दा थोरै क्षेत्रफलमा पनि बढी उत्पादन हुन्छ,” उहाँले भन्नुभयो । व्यावसायिक आलुखेती गर्ने किसानले आधुनिक प्रविधिको प्रयोग तथा बीउ भण्डारण गरेर थोरै जमिनबाट धेरै उत्पादन लिइरहेका छन् । तीन वर्षदेखि आलुको उत्पादन १३ दशमलव ६ टन प्रतिहेक्टर रहेको छ । रासस