मौज्दात पेट्रोलले अब एक साता धान्ने

1.3K

मौज्दात पेट्रोलले अब एक साता धान्ने

oबुटवल्,असोज २२ लुम्बिनी अनलाईन /

वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल आयल निगमसँग मौज्दात रहेको पेट्रोलले एक साताभन्दा बढी नधान्ने बताएको छ।

मन्त्रालयका उच्च अधिकृतहरुले शुक्रबार व्यवस्थापिका संसद्को सार्वजनिक लेखा समितिको बैठकमा निगमसँग मौज्दात रहेको  पेट्रोलले एक साता भन्दा बढी नधान्ने बताएका हुन्। मन्त्रालयका सहसचिव जिवराज कोइरालाले निगमसँग १ हजार ९ सय ८४ किलोलिटर अर्थात १९ लाख ९५ हजार लिटर पेट्रोल रहेको र सुरक्षा निकाय र अत्वावश्यकीय क्षेत्रका लागि छुट्याउँदा मौज्दात पेट्रोलले अब एक साता मात्र धान्ने बताए।

उनले निगमका ट्यांकर भारतीय सीमामा रोकिएका कारण मौज्दात पेट्रोलको परिणाम घट्दै गएकाले अहिले गुडिरहेका आधा सवारी साधनलाई मात्र पेट्रोल दिने तयारी गरिरहेको पनि बताए।

नेपाल आयल निगमले अहिले काठमाडौं उपत्यका ८ वटा पम्पमार्फत दैनिक जम्मा ३८ हजार लिटर पेट्रोल वितरण गरिरहेको छ। सामान्य अवस्थामा नेपालमा दैनिक ३ लाख ५० हजार लिटर पेट्रोल खपत हुने गरेको छ। मौज्दात इन्धनले धेरै दिन नपुग्ने भएपछि निगमले बिहिवार इन्धन आपूर्तिका लागि तीन दिनको समय दिएर ग्लोबल टेण्डर आव्हान गरेको थियो। तर ग्लोबल टेण्डरमा अपेक्षा गरे अनुसारका प्रस्ताव नआएको निगमका प्रबन्ध निर्देशक गोपालबहादुर खड्काले बताउ।

उनले बंगलादेश र सिंगापुरबाट आपूर्ति गर्ने प्रस्ताव नआएको भन्दै अहिलेको संकट टार्न खाडी मुलुकबाट इन्धन ल्याउने तयारी गरिरहेको बताए।

लेखा समितिले ग्लोबल टेण्डरमा प्रस्ताव हाल्ने कम्पनीलाई तत्काल इन्धन आपूर्तिको अनुमति दिन नेपाल आयल निगमलाई निर्देशन दिएको छ। समितिले उत्तरी नाका खोल्नका लागि चीनलाई पत्राचार गर्न तथा दक्षिणी नाका खोल्नका लागि कुटनीतिक पहललाई तिब्रता दिन सरकारलाई पनि निर्देशन दिएको छ।

समितिले भारतको अघोषित नाकाबन्दी र त्यसका कारण आपूर्ति व्यवस्थामा परेको असरबारे छलफलका लागि प्रधानमन्त्री सुशिल कोइराला, उपप्रधानमन्त्री तथा गृहमन्त्री वामदेव गौतम, अर्थमन्त्री डा. रामशरण महत, परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे, वाणिज्य तथा आपूर्तिमन्त्री सुनिल बहादुर थापा र प्रमुख दलका संसदीय दलका नेताहरुको उपस्थितिमा शनिबार मध्यान्ह बैठक राखेको छ।