बुटवल । रुपन्देही जिल्लाको बुटवलमा कर्पोरेट कार्यालय रहेको शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडमा प्युठान जिल्लाको बिजुवारमा केन्द्रीय कार्यालय रहेको गौमुखी विकास बैंक लिमिटेड गाभिने भएको छ । मर्जर सहमती पत्रमा शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडको तर्फवाट अध्यक्ष थानेश्वर पौडेल र गौमुखी विकास बैंक लिमिटेडको तर्फवाट अध्यक्ष नारायण बैद्यले शनिवार हस्ताक्षर गर्नुभएको छ ।
संस्थागत सुशासन, आन्तरिक नियन्त्रण प्रणाली, कर्जाको गुणस्तर, पूंजीकोष तथा अन्य वित्तीय सूचकांकहरु अत्यन्त सुदृढ र सवल रहेको दुवै बैंकले ग्रामिण क्षेत्रमा बैंकिंग साक्षरता तथा बैंकिग पहुंच पुर्याउन महत्वपूर्ण भूमिका खेलेका छन् ।
चुक्ता पूँजी रु. ६३ करोड ३३ लाख रहेको शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले आर्थिक बर्ष २०७१-०७२ मा २७ प्रतिशत वोनश शेयर र सोको कर प्रयोजनका लागी १.४२ प्रतिशत नगद लाभांश वितरणका लागी प्रस्ताव गरेको छ । सो पश्चात बैंकको चुक्ता पूँजी रु. ८० करोड ४३ लाख हुनेछ भने गौमुखी विकास बैंक लिमिटेडको हाल चुक्ता पूँजी ४ करोड ४९ लाख रहेको छ भने हकप्रद शेयर वापत १ करोड ६८ लाख निष्काशन प्रकृयामा रहेको छ । हकप्रद निश्कासन पश्चात चुक्ता पूँजी करिव ८७ करोड पुग्नेछ । डिडिए पश्चात नेटवर्थ समेतको आधारमा शेयर समायोजन अनुपात निर्धारण गरिनेछ भने नेटवर्थमा १५ प्रतिशत भन्दा फरक नपरेमा शेयर समायोजन अनुपात (स्वाप रेसियो) १ ः ०.९० (शाइनको १ शेयर बरावर गौमुखीको ०.९ शेयर) कायम गर्ने सहमती भएको छ । मर्जर पश्चात बैंकको नाम शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लि. हुनेछ ।मर्जर पश्चात निक्षेप ७ अर्व ६ करोड र कर्जा लगानी ६ अर्व ५ करोड पुग्नेछ भने केन्द्रीय कार्यालय, कर्पोरेट कार्यालय, सहित २१ वटा शाखा कार्यालय र २ वटा एक्सटेन्सन कार्यालय हुनेछन् भने कर्मचारी संख्या करिव २०० हुनेछ ।