इन्धन आपूर्तिका पाँच प्रस्ताव ,चीनबाट ग्यास आपूर्ति गर्न प्रस्ताव

1.3K

इन्धन आपूर्तिका पाँच प्रस्ताव ,चीनबाट ग्यास आपूर्ति गर्न प्रस्ताव

o

काठमाडौं : नेपाल आयल निगम (एनओसी) ले इन्धन आपूर्ति गर्न बिहीबार आह्वान गरेको ग्लोबल टेन्डरका लागि दोस्रो दिनसम्म पाँचवटा प्रस्ताव परेका छन् । तीनदिने टेन्डरको अन्तिम म्याद शनिबार हो ।
एनओसी स्रोतका अनुसार सिंगापुर, यूएईका शारजाह, दुबईलगायतका स्थानबाट इन्धन आपूर्ति गर्न पाँचवटा संस्थाले शुक्रबारसम्म प्रस्ताव गरेका छन् । आइतबार थप केही संख्यामा पर्ने अनुमान छ ।
एनओसीले अल्पकालीन नीतिअन्तर्गत डिजेल प्रतिदिन दुई सय किलोलिटर, पेट्रोल सय किलोलिटर, हवाईइन्धन र मट्टितेल दुई÷दुई सय किलोलिटर र एलपीजी ग्यास सय मेट्रिक टन आपूर्तिका लागि अन्तर्राष्ट्रिय टेन्डर आह्वान गरेको हो । हवाईमार्ग वा स्थलमार्गबाट काठमाडौंमा तत्कालै पेट्रोलियम पदार्थ उपलब्ध गराउन स्वदेशी तथा विदेशी आपूर्तिकर्ता (सप्लायर्स) बाट प्रस्ताव माग गरिएको थियो ।
अघोषित नाकाबन्दी लगाएको भारतको भने टेन्डर प्रतिस्पर्धामा समेत अनुपस्थिति देखायो । डिपोको ट्यांकरबाट जहाजमा र फेरि जहाजबाट ट्यांकरमा इन्धन हालेर पठाउँदा पेट्रोलियम पदार्थको गुणस्तर बिग्रन सक्ने भन्दै भारतीय कम्पनीले प्रस्ताव हाल्न ‘आनाकानी’ गरेको छ ।
स्रोतका अनुसार भारतीय कम्पनीले नेपालका निजी क्षेत्रलाई पनि प्रस्ताव हाल्न असहयोग गरेको छ । ‘भारतीय कम्पनीले आफू पनि प्रस्ताव हालेनन्,’ निगम स्रोतले भन्यो, ‘निजी क्षेत्रले हाल्न खोज्दा पनि असहयोग गरेर नकारात्मक भूमिका खेलेका छन् ।’
निगमले १५ दिनका लागि खपत हुने गरी डिजेल, पेट्रोल, मट्टितेल, हवाई इन्धन र एलपीजी ग्यास आपूर्ति गर्न टेन्डर आह्वान गरेको हो । ‘दोस्रो दिनसम्म अत्यन्त न्यून संख्यामा प्रस्ताव आएको छ’, निगमका कार्यकारी निर्देशक गोपाल खड्काले भने, ‘जुन संख्यामा आउनुपर्ने थियो, त्यो संख्यामा आउन सकेको छैन ।’
 निगमले इन्धन आपूर्ति गर्न अन्तर्राष्ट्रिय टेन्डर आह्वान गरे पनि बंगलादेश, थाइल्यान्ड, चीन र खाडी मुलुकबाट इन्धन ल्याएर बिक्री गर्न निकै महँगो हुने विज्ञहरूले आंैल्याएका छन् । खाडी मुलुकसहित थाइल्यान्डबाट इन्धन बोकेर आउने जहाजलाई ओदोरदोहोर गर्न नै ४० मेट्रिक टनभन्दा बढी इन्धन चाहिन्छ । जहाजको भाडा खर्च जोड्दा इन्धनको उपभोक्तामूल्य तीन गुणा बढी पर्ने निगम स्रोतले जनाएको छ ।
खड्काले निगम र वाणिज्य तथा आपूर्ति मन्त्रालयले रसियन जहाज भाडामा लिएर इन्धन ल्याउन लागेको विषयमा कुनै छलफल र निर्णय नभएको दाबी गरे । ‘जहाज भाडामा लिएर इन्धन आपूर्ति गर्न सक्ने अवस्थामा हामी छैनौं’, उनले शुक्रबार अन्नपूर्ण पोस्ट्सँग भने, ‘त्यस विषयमा कुनै छलफल र निर्णय भएको छैंन ।’ निगमले चीनबाट इन्धन ल्याउने विषयमा पनि कुनै निर्णय नभएको जनाएको छ ।
वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव शिवप्रसाद त्रिपाठीले पनि रसियन जहाज भाडामा लिएर इन्धन आयात गर्ने विषयमा मन्त्रालयमा कुनै छलफल र निर्णय नभएको जानकारी दिए ।
चीनबाट ग्यास आपूर्ति गर्न प्रस्ताव
ग्यास उद्योगीले चीनबाट एलपीजी ग्यास आपूर्ति गर्न नेपाल आयल निगम (एनओसी) मा प्रस्ताव गरेका छन् । निगमले ग्यास आपूर्ति गर्न निजी क्षेत्रसँग केही दिनअघि प्रस्ताव मागेको थियो ।
ग्यास उद्योगीहरूको संस्था ओम शिव पेट्रो प्रालिले चीनको न्यालमबाट ग्यास ल्याएर बिक्री गर्ने विषयमा बिहीबार प्रस्ताव गरेको हो ।
ग्यास उद्योग संघका अध्यक्ष शिवप्रसाद घिमिरेका अनुसार खासाभन्दा ३० किलोमिटर टाढा रहेको सहर न्यालमस्थित प्लान्टबाट ग्यास आयात गर्न प्रस्ताव गरिएको हो ।
उपत्यकामा तत्काल ३५ देखि ४० हजार सिलिन्डरको माग रहेकाले सोही परिमाणमा आयात गर्न प्रस्ताव गरिएको घिमिरेले जानकारी दिए । शुक्रबार बसेको सार्वजनिक लेखा समितिले ग्यास आपूर्तिका लागि निगमलाई तत्कालै निर्णय गरेर स्वीकृत प्रदान गर्न निर्देशनसमेत दिएको छ ।

– See more at: http://annapurnapost.com/News.aspx/story/20376#sthash.OQNVeEyi.dpuf