सहकारीमा पुँजीको सुरक्षा गर्ने दायित्व सरकारको हो : मन्त्री खाँण

1.3K

सहकारीमा पुँजीको सुरक्षा गर्ने दायित्व सरकारको हो : मन्त्री खाँण

पुँजी निर्माणमा सहकारीको सफलता, लगानीका क्षेत्र पहिचान भएन
बुटवल, १५ पुस । रक्षा मन्त्री एवं नेपाली काँग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणले सहकारीमा नयाँ आयाम थप्न आवश्यक रहेको बताउँदै सहकारीमा लगानी गर्ने शेयर सदस्यको पुँजीको सुरक्षाकालागि सरकार गम्भिर रहेको बताउनु भएको छ ।

नेपाली काँग्रेसको कृषि तथा सहकारी विभाग प्रमुख समेत रहनुभएका खाँणले नेपालको आर्थिक बिकास र सामाजिक उन्नयनमा सहकारीले विशेष योगदान पु¥याएको बताउँदै सहकारीलाई अझै समय सापेक्ष रुपमा कसरी बिकास गर्न सकिन्छ भन्ने तर्फ सोंच्न आवश्यक रहेको बताउनु भयो ।

बुटवलमा सञ्चालित धौलागिरी बहुउद्देशयीय सहकारी संस्थाको १७ औं वार्षिक साधारण सभा तथा नबौं अधिवेशनको आज उद्घाटन गर्दै कतिपय सहकारी सञ्चालकले आर्थिक अपराध गरेका कारण सबै सहकारीको बदनाम पनि हुने काम भएकाले त्यसतर्फ सजग र सचेत रहन सहकारीमा लगानी गरेका शेयर सदस्यलाई आग्रह गर्नुभयो ।

सहकारीमा पुँजी लगानी गरेका सर्वसाधारणको पुँजी सुरक्षा गर्ने दायित्व सरकारको भएको बताउँदै त्यसमा सरकार प्रतिवद्ध रहेको पनि बताउनु भयो । ‘नेपालको आर्थिक बिकास र सामाजिक उन्नयनको अभियानमा सहकारी छ ।’ मन्त्री खाँणले भन्नुभयो–‘यसलाई सफल बनाउने सबैको साझा दायित्व हो ।’

महिलालाई सामाजिक सहभागितामा बिकास गराउने र उनीहरुको क्षमता अभिबृद्धिमा सहकारीले बिशेष भुमिका खेलेको बताउँदै सहकारीलाई उद्यमशिलतासंग समेत जोड्न आग्रह गर्नुभयो । सहकारीले उद्यमशिलता बिकासमा पनि लगानी गर्ने हो भने मुलुकको आद्योगिक तथा आर्थिक बिकासमा समेत ठूलो योगदान गर्न सक्ने उहाँको भनाई थियो ।

सो अवसरमा सहकारीले आफ्ना शेयर सदस्यका छोराछोरीबाट एसएलसी परीक्षामा उत्कृष्ट भएका केशरी पाण्डे पोखरेलकी छोरी पुजा पोखरेल र हिमालय भुसालका छोरा अच्युत भुसाललाई नगद सहित सम्मान पत्रले सम्मान गरेको थियो । त्यस्तैगरी सहकारीमा आवद्ध रहेको जेष्ठ सदस्यलाई समेत सम्मान गरिएको थियो ।

साधारण सभामा प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष हरिप्रसाद पन्तले संस्था बहुउद्देश्यीय भएपनि देशमा जारी राजनीतिक अस्थिरता र नीतिगत अस्पष्टताका कारण बहुउद्देश्यीय कार्यक्रमहरु अंगाडी बढाउन समस्या भएको बताउनु भयो । उहाँले नेपालमा सहकारीले प्रचुर मात्रामा पुँजी निर्माण गर्न सफल भएपनि लगानीका क्षेत्र पहिचान गर्न नसकिएको उल्लेख गर्नुभयो ।

साधारण सभाले संस्थाको कार्यक्षेत्र बिस्तार गरी जिल्लाभरी बनाउने प्रस्ताव पारित गरेको छ । त्यस्तैगरी सदस्यता बृद्धि गरि एक हजार पु¥याउने प्रस्ताव समेत पारित गरेको छ । हाल संस्थामा ६ सय शेयर सदस्य रहेका छन् । संस्थाले शेयर सदस्यको हितकालागि धौलागिरी शेयर सदस्य राहत कोष स्थापना गरेको थियो ।

शेयर सदस्यको मृत्यु भएको उक्त कोषबाट २५ हजार रुपैंया सहयोग गर्ने व्यबस्था संस्थाले गरेको थियो । जसकालागि सात लाख रुपैंया उक्त राहत कोषमा राखिएको अध्यक्ष पन्तले जानकारी दिनुभयो । त्यस्तै अब नयाँ बन्ने शेयर सदस्यबाट उक्त कोषकालागि ५ सय रुपैंया लिने व्यबस्था समेत साधारण सभाले तय गरेको उपाध्यक्ष खिमानन्द भट्टराईले जानकारी दिनुभयो ।

कार्यक्रममा बोल्दै डिभिजन सहकारी कार्यालय रुपन्देहीका प्रमुख नेत्रप्रसाद घिमिरेले सहकारीको मुल्य र मान्यतालाई आत्मसाथ गरेर सम्भावना भएका क्षेत्रमा पुजी परिचालन गर्नुपर्ने बताउनु भयो ।

उद्घाटन कार्यक्रममा सल्लाहकारहरु संस्थापक अध्यक्ष तथा नेपाली काँग्रेस रुपन्देहीका सचिव रामकृष्ण खाँण, युवराज गिरी, फणेन्द्र शर्मा, प्रेस सल्लाहकार नेपाली काँग्रेस रुपन्देही क्षेत्र नं. ४ का सभापति हरि लम्साल लगायतले भनाई राख्नुभएको थियो । कार्यक्रम स्वागत उपाध्यक्ष खिमानन्द भट्टराई तथा सचिव गोबिन्द खनालको सञ्चालनमा भएको थियो ।