नेपालद्वारा युगान्डा पराजित

626

नेपालद्वारा युगान्डा पराजित

logoकाठमाडौँ,  आइसिसी उन्नाइस वर्षमुनि (यु–१९) को विश्वकप छनोट क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा नेपाली युवा टोलीले युगान्डालाई पराजित गर्दै प्रतियोगितामा दोस्रो जित दर्ता गराएको छ ।

मलेसियाको क्वालालम्पुरस्थित रोयल सेलेङगर क्लबको खेल मैदानमा भएको सो प्रतियोगितामा नेपालले युगान्डालाई १७१ रनको भारी अन्तरले पराजित गर्दै विजयी भएको हो । नेपालको यो लगातार दोस्रो जित हो । हिजो बिहीबार भएको पहिलो खेलमा नेपालले पपुवान्युगिनीमाथि ९ विकेटको सानदार जित हासिल गरेको थियो ।

टस जितेर पहिले ब्यटिङमा उत्रेको नेपालले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २४२ रन जोड्यो । जवाफी ब्याटिङमा उत्रेको युगान्डा ३६ दशमलव २ ओभरमा सबै विकेट गुमाउँदै ७१ रनमा समेटियो ।

नेपाली ब्याट्सम्यान राजु रिजालले शतकीय पारी खेलेपछि नेपालले युगान्डालाई २४३ रनको चुनौतीपूर्ण लक्ष्य दिएको थियो । रिजालले ११५ बलमा एक छक्कासहित ७ चौकाको मद्दतमा १०१ रन जोडेका हुन । त्यस्तै अरिफ शेखले ५४ रनको योगदान दिए । उनले चार चौकाको सहयोगमा ५४ रन जोडेका हुन् ।

यसैगरी योगेन्द्र कार्कीले ३० तथा राजवीर सिंहले १३ रन जोड्नुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अङ्क जोड्न सकेनन् ।

युगान्डालाई सस्तैमा समेट्ने क्रममा नेपालका दिनेश श्रेष्ठले एक्लैले तीन विकेट लिए भने अरिफ शेख, दीपेन्द्र सिह ऐरी र प्रेम तामाङले समान दुई–दुई विकेट लिए । युगान्डाका ब्याट्सम्यान जोन गाबुलाले सर्वाधिक २५ रन जोडेका थिए भने डि बाकुन्जीले १८ रन जोड्नुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अङ्क जोड्न सकेका थिएनन् ।

प्रतियोगितामा प्लेयर अफ द म्याच नेपाली ब्याट्सम्यान राजु रिजाल घाषित भए । यस जितसँगै नेपालले ४ अङ्क जोडेको छ ।