बुटवल/गत असोज २६ गतेदेखि शुरु भएको दशैं सस्तो बजार करिव १ करोडको कारोवार गर्दै सकिएको छ । दशैं पर्वलाई लक्षित गरी उपभोक्तालाई सर्बसुलभ र सुपथ मुल्यमा दैनिक उपभोग्य बस्तु उपलब्ध गराउने गरी बुटवल उद्योग बाणिज्य संघले सञ्चालन गरेको १५ औं दशैं सस्तो बजार ५ दिनसम्म चलेको थियो । सस्तो बजारमा नयाँ नेट समेत गरि करिव १ करोडको कारोवार भएको बजार संयोजक बिमलराज भट्टराईले बताउनु भयो । दशैं सस्तो बजारबाट उपभोक्ता तथा व्यापारीहरु सबै सन्तुष्ट भएको पाईएको संघका अध्यक्ष महेशमान सिंहले बताउनु भयो । ५ दिनसम्म चलेको दशैं सस्तो बजारमा सहभागि स्टल धनीहरुलाई अध्यक्ष सिंहले प्रमाण पत्र प्रदान गर्नुभयो । दशैं बजारमा मत्स्य बिकास केन्द्र, साल्ट ट्रेडिगं, दुग्ध बितरण सँस्थान सहित बिभिन्न औद्योगिक प्रतिष्ठानका माछा, मासु, ध्यु, तेल, नुन, चिनि सहितका खाद्यान्न लत्ताकपडा तथा नेपाल राष्ट्र बैकबाट नयाँ नोट सटहीको व्यवस्था गरिएको थियो । दशैं सस्तो बजारमा नेपाल राष्ट्र बैंकको सहयोगमा २१ हजार नयाँ नोट सटही गरिएको संयोजक भट्टराईले जानकारी दिनुभयो । सस्तो बजारमा रकेट(कोईला), चुलो र नयाँ नोट आकर्षण बनेको संघले जनाएको छ । मुलुकमा भएको असहज परिस्थितका कारण एलपी ग्याँसको अभावलाई बैकल्पिक व्यबस्थापनकालागि बैकल्पिक ईन्धन विकेट र चुलोको समेत व्यबस्था गरिएकाले पनि यसले बजारको आकर्षण बढाएको संघका महासचिव हरिप्रसाद अर्यालले बताउनु भयो ।