कांग्रेसले राष्ट्रपतिमा उम्मेदवारी दिन्छ- कांग्रेस

582

कांग्रेसले राष्ट्रपतिमा उम्मेदवारी दिन्छ- कांग्रेस

nc

काठमाडौ, कात्तिक ३/नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले पार्टीले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा पार्टीका तर्फबाट उपयूक्त उम्मेदवार खडा गर्ने स्पष्ट पारेका छन्।रिपोर्टर्स क्लब नेपालले कोइराला निवास महाराजगंजमा आयोजना गरेको विशेष साक्षात्कारमा उनले भने,‘तपाईँहरु ढुक्क हुनुस, कांग्रेसले राष्ट्रपति निर्वाचनमा उम्मेदवारी दिन्छ। लोकतन्त्रको संस्थागत विकास र संविधानको कार्यान्वयनको लागि पनि उम्मेदवारी दिनु अपरिहार्य छ। हामी अहिले छलफलमा छौँ, पार्टीले निर्णय गरेर उपयूक्त पात्रलाई उम्मेदवार बनाउँछौ।’साक्षात्कार कार्यक्रममा कोइरालाले प्रधानमन्त्री निर्वाचनमा पनि पार्टीले आफूलाई उम्मेदवार बनाएकोले आफू उम्मेदवार बनेको स्पष्ट पार्दै आफ्नो उम्मेदवारी लोकतन्त्र र मधेस आन्दोलनको पक्षमा भएको दावी गरे।उनले भने,‘ कांग्रेसले उम्मेदवारी दिएकै कारण आन्दोलनमा रहेका मधेसवादी दलहरु निर्वाचनमा सहभागि भए। यसले समस्या समाधानको बाटो खुलेको छ। अब समस्या समाधान भएर जान्छ।’ उनले थपे,‘ सहमति को कुरा ठीक हो त्यो हामी पनि चाहन्छौँ तर प्रजातन्त्रतको सुन्दरपक्ष पनि त हो नि प्रतिस्पर्धा।’कोइरालाले फेरि मुलुक द्वन्द्वमा गयो भने नेपाल रहन्छ कि रहदैन भन्ने आशंका रहेको उल्लेख गर्दै तत्काल सरकारले मधेसको समस्या समाधान गर्न आफू नेतृत्वको सरकारले ल्याएको संविधान संसोधन विद्येयकलाई अगाडि बढाउनु पर्ने धारणा राखे।सरकारले गठन गरेको बार्ता समितिमा काग्रेस नबस्ने स्पष्ट पार्दै उनले भने,‘ प्रधानमन्त्रीजीले मलाई काग्रेसको तर्फबाट बार्ता टोलीमा सहभागिता हुनु पर्‍यो भन्नु भएको थियो तर काग्रेसमा त्यसमा सहभागि हुँदैन। मैले प्रधानमन्त्रीलाई काग्रेस समितिमा सहभागि हुँदैन बाहिर बाट गर्ने सहयोग गर्छौ भनेर भनेको छु।’मधेसको समस्या समाधानको लागि संविधान संसोधन विद्येयक र भुकम्पबाट क्षति भएका क्षतिग्रस्त संरचनाको पुर्ननिर्माणको लागि आफू नेतृत्वकोसरकारले पेश गरेको विद्येयक तत्काल अघि बढाउन आग्रह गर्दै कोइरालाले सरकारको राम्रो कामलाई सधै सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरे।पछिल्लो समयमा नेपालमा आपूर्तिमा देखिएको समस्याको विषयमा राखिएको जिज्ञासामा कोइरालाले आफूहरु सरकारमा बस्दा वा नबस्दा बोलीमा फरक नहुने भन्दै कुटनीतिक तवरबाट समस्याको समाधान खोज्नु पर्नेमा जोड दिए।उनले भने,‘ हामीहरु नाकाबन्दी भन्छौ, उहाँहरुले रोकेको छैन, तपाईहरुकै कारण भएको हो भन्नु हुन्छ। मैले भारतीय राजदुतलाई बोलाएर भनेको थिए, यो नराम्रो स्थिति भयो नाका खोल्नु पर्यो भन्दा उहाँले पनि त्यस्तै भन्नु भयो। नेपाल भारत सम्बन्धमा समस्या छ ,यसलाई कुटनीतिक तवरले समाधान गर्नु पर्छ।’कोइरालाले समस्या समाधानको लागि दलहरु र सरकारले पहल पर्याप्त पहल गरेको दावी गर्दै चीनसँग आग्रह गर्दा समेत उसले पनि खासै चासो नदेखाएको बताए।संविधान दलहरुवीचको सम्झौताको दस्तावेज भएकोले यसमा सबैको कुराहरु परेको दावी गर्दै उनले भने,‘ संसद सुरु भएपछि संघीय आयोग गठन हुन्छ, त्यहाँ राजनीतिक तहमा छलफल गरिन्छ, सच्याएर जाने ठाँउ छ। समानुपातिक समावेशीता गर्ने र जनसंख्याको आधारमा निर्वाचन क्षेत्र कायम गर्ने संसोधन अघि बढीसकेको छ। ’ उनले थपे,‘ सबैलाई समेट्ने संविधान भेट्न गाह्रो छ , सबैको केही न केही कुरा संविधानमा परेकै छ।’कोइरालाले आफ्नो कार्यकालमा सार्क सम्मेलन गरेको, विमस्टेक बैठक, भुकम्पछिको पुर्ननिर्माणको लागि दाता सम्मेलन गरेर साढे चार खर्व रुपैयाको प्रतिबद्धता प्राप्त गर्नु र संविधान निर्माण गर्नु ठूलो उपलब्धि भएको भन्दै पुर्ननिर्माणको काम अघि नबढाउँदा दाताहरुमा आशंका उब्जन थालेकोले यसलाई चिर्नु पर्ने बताए।