अार्थिक र सामाजिक विकासमा केन्द्रित : राष्ट्रपति

523

अार्थिक र सामाजिक विकासमा केन्द्रित  : राष्ट्रपति

ram-baran

काठमाडौँ । राष्ट्रपति डा रामवरण यादवले नयाँ संविधान निर्माणसँगै मुलुकमा आर्थिक एवम् सामाजिक विकासतर्फ केन्द्रित गर्ने बाटो खुलेको बताएका छन् ।

वडादसैं २०७२ का अवसरमा राष्ट्रपति डा. यादवले दिएको शुभकामना सन्देशमा देश–विदेशमा रहेका सम्पूर्ण नेपालीलाई सुख, शान्ति र समृद्धिका लागि हार्दिक एवम् मङ्गलमय शुभकामना व्यक्त गर्दै प्रमुख राजनीतिक मुद्दा निरुपण भएको पृष्ठभूमिमा अब सम्पूर्ण सोच र शक्ति आर्थिक क्रान्तिका लागि साझा राष्ट्रिय लक्ष्यमा लाग्नुपर्ने उल्लेख गरेका छन् ।

‘जननिर्वाचित प्रतिनिधिबाट संविधान बनाउने हाम्रो झण्डै सात दशक पुरानो राष्ट्रिय सपना भर्खरै साकार भएको छ । संविधानसभाबाट नेपालको संविधान जारी भएको सुअवसरमा पुनः हार्दिक बधाई ज्ञापन गर्दछु’ सन्देशमा डा. यादवले भनेका छन् ‘नयाँ संविधानको कार्यान्वयनसँगै झण्डै एक दशकअघि सुरु गरिएको शान्ति प्रक्रिया टुङ्गिएको छ भने जनआन्दोलनका उपलब्धि बनेका लोकतान्त्रिक गणतन्त्र, सङ्घीयता, समावेशीताले संस्थागत स्वरुप प्राप्त गरेका छन् ।’

सन्देशमा संविधान निर्माण आफैँमा एउटा निरन्तर प्रक्रिया भएको र यसको अभ्यास तथा कार्यान्वयन गर्दै अघि बढ्दा यो थप परिष्कृत, समावेशी र न्यायपूर्ण हुँदै जाने भन्दै नेपालको नयाँ संविधान देशमा संविधानवाद र लोकतन्त्रका आधारभूत मान्यता स्थापित गर्दै नेपालबाट सबै प्रकारका विभेद, अन्याय र शोषणलाई अन्त्य गर्न सफल हुने विश्वास व्यक्त गरिएको छ ।

‘चाडपर्व नेपाली समाजका गहना हुन् । हरेक ऋतु परिवर्तनसँगै आइरहने चाडपर्वले हाम्रो भौगोलिक, धार्मिक, सांस्कृतिक, जातीय र भाषिक विविधतालाई आपसमा गाँसेर सामाजिक सद्भाव, राष्ट्रिय एकता र साझा नेपाली पहिचान कायम गर्नमा महत्वपूर्ण योगदान गरेका छन्’ सन्देशमा भनिएको छ, ‘विभिन्न जात–जाति, समुदाय, भूगोल र धर्माबलम्वीका विशिष्ट परम्परा हाम्रो राष्ट्रिय एकताको मियोका रुपमा रहेका छन् ।’

डा. यादवले दसैं, तिहार, छठ, ल्होसारजस्ता पर्वलाई साझा सांस्कृतिक उत्सवका रुपमा विस्तार र विकास गर्नेतर्फ ध्यान दिनु समायोचित हुने पनि बताए ।