देशभक्त सिपाहीको चरित्रमा ‘निर्भय’

555

देशभक्त सिपाहीको चरित्रमा ‘निर्भय’

बुटवल, ७ चैत । असल सिपाहीको विषयबस्तुलाई समेटेर निर्माण गरिएको नेपाली कथानक चलचित्र ‘निर्भय’ यही चैतको ११ गते रिलिज हुने भएको छ । नेपाली खराव राजनीतिक बृत्तलाई चलचित्रमा उतारिएको र एउटा राष्ट्र सेवक सिपाहीको भूमिका देखाउन खोजिएको चलचित्रका निर्माता देवीप्रसाद पाण्डेले बताउनु भयो ।

‘यो समुहको पहिलो चलचित्र भएपनि राजनीतिक अराजकता केलाउँदै प्रहरीको भूमिका देखाउन खोजिएको छ ।’ निर्माता पाण्डेले भन्नुभयो–‘राजनीतिक बृत्तको यथार्थ घटनाक्रमलाई चलचित्रमा उतारिएको छ, दर्शकले अपेक्षा गरेअनुसारको नयाँ विषयबस्तु समेटिएकाले पनि चलचित्र राम्रो बनेको छ ।’  करिव १ करोड १७ लाख रुपैंया लगानी भएको उक्त चलचित्र निर्माण गर्नकालागि ११ महिना लागेको निर्देशक मधुसुधन भट्टराईले बताउनु भयो । समयसापेक्ष बिषयबस्तुको छनौट, गीतसंगीत र नयाँपना भएकाले पनि अपेक्षाकृत रुपमा प्रतिफल पाउन सक्ने उहाँले आशा व्यक्त गर्नुभयो ।

अहिले मुलुकमा राजनीतिक अराजकता मौलाउँदै गएको र यस्तो परिस्थितीमा एउटा सिपाहीले मुलुककालागि कतिसम् मगर्न सक्छ भन्ने कुरा चलचित्रमा देखाउन खोजिएको उहाँले उल्लेख गर्नुभयो । व्यापार व्यबसायमा जमेका पाण्डेलाई यो लगानी खासै ठूलो नभएपनि विजनेशकै लागि चलचित्रमा लगानी गरेको आज नेपाल चलचित्र पत्रकार संघ रुपन्देहीले बुटवलमा पत्रकार सम्मेलनमा बताउनु भयो । नेपाली चलचित्र निर्माणमा यो लगानीलाई ठूलै मानिन्छ । यद्यपी चलचित्रले लगानी उठाउन र प्रतिफल समेत दिने निर्माता पाण्डेले विश्वास व्यक्त गर्नुभयो ।

काठमाण्डौं, पोखरा, चितवन लगायतका ठाउँमा छायांकन गरिएको उक्त चलचित्र २ घण्टा २२ मिनेटको छ । याम थापाको स्टोरीमा निर्माण गरिएको चलचित्रमा नायक निखिल उप्रेती, नायिका नीता ढुङ्गाना लगायत फिल्मी क्षेत्रमा करियर बनाएका ५५ जना कलाकारले अभिनय गरेको निर्देशक भट्टराई बताउनु भयो । चलचित्र पत्रकार संघ रुपन्देहीका अध्यक्ष सुमन श्रेष्ठको अध्यक्षतामा भएको पत्रकार सम्मेलन उपाध्यक्ष मोति न्यौपानेको सञ्चालनमा भएको थियो ।