भरतपुर अस्पतालमा थप दुई शैक्षिक कार्यक्रम

461

भरतपुर अस्पतालमा थप दुई शैक्षिक कार्यक्रम

200_bharatpur-hospital_3637772a-6502-45f6-ad10-1ef7a69b931eचितवन, / भरतपुर अस्पताल विकास समितिले स्वास्थ्य सेवालाई अध्ययन र अनुसन्धानसँग जोडेर अघि बढाउने उद्देश्यका साथ दुई शैक्षिक कार्यक्रम यसै शैक्षिक सत्रदेखि सुरु गरेको छ ।

यस वर्ष बिएन र पोस्ट ग्य्राजुयट (पिजी) को पढाइ सञ्चालन हुने भएको छ । ती दुवै कार्यक्रम चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (नाम्स) अन्तर्गत रहेर सञ्चालन हुने अस्पताल विकास समितिका अध्यक्ष विजय सुवेदीले बताउनुभयो ।

यसअघि अस्पतालले प्रवीणता प्रमाणपत्र तहको नर्सिङ कार्यक्रम सञ्चालन गर्दै आएको थियो । समितिले भरतपुर चिकित्सा विज्ञान प्रतिष्ठानका रुपमा अस्पताललाई विकास गरी थप शैक्षिक कार्यक्रम सञ्चालन गर्ने लक्ष्य समेत लिएको छ ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा केशवराज भुर्तेलका अनुसार यस शैक्षिक सत्रमा बिएन मा २० र पोस्ट ग्य्राजुयटमा चार जनालाई अध्यापन गराइने छ । बिएनको प्रवेश परीक्षा भई केही दिनमा नै सुरु हुँदैछ ।

अस्पतालमा जनशक्ति रहेका स्त्री रोग, मानसिक रोग, सर्जरी र अर्थोपेडिकमा एक÷एक जनाको पोस्ट ग्य्राजुयट पढाइ हुँदैछ । यो सङ्ख्या बढ्न पनि सक्ने मेडिकल सुपरिटेन्डेन्ट भुर्तेलले बताउनुभयो ।

पोस्ट ग्रेजुयट अध्ययनका लागि सरकारले खर्च गरेर निःशुल्क पढाउँदै छ भने बिएन र प्रवीणता प्रमाणपत्र तह नर्सिङमा निजी संस्थामा भन्दा झन्डै आधा कम शुल्कमा विद्यार्थीले पढ्न पाउने छन् । बिएनमा नाम्सले विद्यार्थी छनोट गरी पठाइसकेको छ भने पोस्ट ग्य्राजुयटमा विद्यार्थी पठाउन बाँकी छ ।

भरतपुर अस्पतालमा हाल सरकारी स्वीकृत तीन सय र विकास समितिको एक सय २५ गरी चार सय २५ शय्या सञ्चालनमा छ । शैक्षिक कार्यक्रम सञ्चालन गरेसँगै आवासीय चिकित्सक रहने हुँदा स्तरीय सेवा बिरामीले पाउने अध्यक्ष सुवेदीले बताउनुभयो । यी कार्यक्रम सञ्चालनपछि आउँदो शैक्षिक सत्रदेखि एमएनको पढाइका लागि सम्बन्धनको तयारी समेत थालिने बताइएको छ ।
भरतपुर अस्पतालमा चितवन, नवलपरासी, मकवानपुर, बारा, पर्सा, गोरखा, लमजुङ, तनहँु, धादिङलगायत जिल्लाबाट बर्सेनि करिब एक लाख ५० हजार बिरामीले सेवा लिँदै आएका छन् । रासस