यही कात्तिक १७ र १८ गते सञ्चालन हुने भनिएको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम बन्द र हडतालका कारण प्रभावित हुन पुगेको जिल्ला जनस्वास्थ्य कार्यालय धनुषाले जनाएको छ ।
बन्द र हडतालका कारण यातायात नचल्दा स्वास्थ्य चौकीमा औषधि पठाउन नसकिएको स्वीकार्दै प्रमुख जनस्वास्थ्य अधिकृत सचिदानन्द देवले स्थिति सामान्य भएपछि तिहारलगत्तै सो कार्यक्रम सञ्चालन गरिने छन् ।
औषधिको भण्डारण हेटाँैडा र पथलैयामा रहेकाले त्यहाँबाट भिटामिन ‘ए’ र जुकाको औषधि ‘एल्बेण्डाजोल’ ल्याउन नसकिएकाले सो कार्यक्रम प्रभावित भएको प्रमुख देवले बताउनुभयो ।
उहाँले सो औषधिको केही मात्रामा महोत्तरीको बर्दिवासमा रहे पनि असहज परिस्थितिका कारण उक्त औषधि ल्याउन नसकिएको स्वीकार्नुभयो ।
सरकारको नियमित कार्यक्रमअन्तर्गत छ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्यापसुल र एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई जुकाको औषधि ‘एल्बेण्डाजोल’ पाउने कार्यक्रम रहेपनि मोर्चाले गर्दै आएको लगातारको बन्द हडतालको कारण औषधि ल्याउन नसकिएपछि सो कार्यक्रम प्रभावित भएको हो ।
बन्द हडतालको समयमा ती औषधि प्राप्त हुन नसकेपछि यसपालि भिटामिन ‘ए’ कार्यक्रम सफल हुन नसकेको हो । कार्यक्रमअन्तर्गत यसपाली धनुषामा छ महिनादेखि पाँच वर्षसम्मका एक लाख आठ हजार ४०० बालबालिका भिटामिन ‘ए’ तथा एक वर्षदेखि पाँच वर्षसम्मका ९१ हजार १२३ बालबालिका जुकाको औषधि ‘एल्बेण्डाजोल’ खानबाट वञ्चित रहेको सो कार्यालयले जनाएको छ ।
बन्द र हडतालकै कारण अन्य औषधिसमेत सकिन लागेकाले जिल्लाको ग्रामीण क्षेत्रका बिरामीलाई उपचार गर्न सकिएको छैन ।
जिल्लामा एक जनस्वास्थ्य कार्यालय पाँचवटा स्वास्थ्य केन्द्र र ९८ वटा हेल्थचौकी रहेको छ ।
सरकारले जिल्ला जनस्वास्थ्य कार्यालयमार्फत ग्रामीण क्षेत्रमा रहेका स्वास्थ्य केन्द्र तथा हेल्थचौकीलाई ३८ प्रकारको औषधि दिने गरेको छ । तर विगत तीन महिनादेखि लगातारको तराई–मधेस बन्द रहेकाले ग्रामीण क्षेत्रसम्म ती औषधिको अभाव भएकाले बिरामी प्रभावित हुने गरेको बताइएको छ । रासस