सिद्धार्थ राणा सबैभन्दा बढी व्यक्तिगत आयकर तिर्ने करदाता

559

सिद्धार्थ राणा सबैभन्दा बढी व्यक्तिगत आयकर तिर्ने करदाता

काठमाडौं/व्यवसायी सिद्धार्थ शम्शेर राणा सबैभन्दा बढी व्यक्तिगत आय कर तिर्ने करदाता बनेका छन्।

छैठौं राष्ट्रिय कर दिवस कार्यक्रममा राणालाई सरकारले सबैभन्दा बढी व्यक्तिगत कर तिर्ने करदाताको रूपमा सम्मान गरेको हो ।

शुक्रबार काठमाडौंमा आयोजित विशेष कार्यक्रममा मुख्य सचिव लोकदर्शन रेग्मीले राणालाई व्यक्तिगत आयकर तिर्ने करदातको रूपमा सम्मान गरेका हुन्।

उनले लगातार तीन पटक व्यक्तिगत रूपमा सरकारलाई सबैभन्दा बढी आयकर तिरेका छन्। सिप्रदी ट्रेडिङका संचालक समेत रहेका  राणा सफल व्यवसायी हुन्।

व्यापार व्यवसायतर्फ धेरै आयकर तिर्ने कम्पनीको सम्मान पनि राणाको सिप्रदी ट्रेडिङलाई नै दिइएको छ । त्यसैगरी सबैभन्दा बढी मूल्य अभिवृद्धिकर तिर्ने कम्पनीको सम्मान भने पवनकुमार इन्टरनेशनललाई दिइएको छ । यो वर्ष सबैभन्दा बढी कर तिर्ने कम्पनीको रूपमा सूर्य नेपाल प्रालि सम्मानित भएको छ ।

निर्याततर्फ सबैभन्दा बढी कर भर्सन्ड टेक्नोलोजीले तिरेको छ । त्यसैगरी कृषि तथा पशुपंक्षीतर्फ उत्कृष्ट आयकर दाताको सम्मान राष्ट्रिय विउविजन प्रालिले पाएको छ । सरकारले हिमालय बैंंकलाई पनि उत्कृष्ट आय करदाताको रुपमा सम्मान गरेको छ । बीमातर्फ नेपाल पुनर्बीमा कम्पनी, सहकारीतर्फ राष्ट्रिय सहकारी बैंकलाई उत्कृष्ट आयकरदाताको रुपमा सम्मान गरिएको छ ।

त्यसैगरी सरकारले सूचना प्रविधिमा वर्ल्ड लिंकलाई उत्कृष्ट करदाताको सम्मान दिएको छ । पर्यटनतर्फ टाईगर टप्स प्रालिले सबैभन्दा बढी आयकर तिरेको छ।