औद्योगिक प्रदर्शनी आजदेखी शुरु,उपराष्ट्रपतिले उद्घाटन गर्ने

597

औद्योगिक प्रदर्शनी आजदेखी शुरु,उपराष्ट्रपतिले उद्घाटन गर्ने

बुटवल, छ पुस । रुपन्देही उद्योगसंघको आयोजनामा आजदेखि बुटवलमा राष्ट्रिय औद्योगिक प्रदर्शनी हुँदैछ । ‘संमृद्ध नेपाल निर्माणको आधार, स्वेदशी उद्यमशीलताको विस्तार’ भन्ने नाराका साथ हुन लागेको १४ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी कृषि, प्रविधि तथा पर्यटन महोत्सव–२०७४ को पुर्व सन्ध्यामा बुधबार बुटवलमा जनचेतना मुलक ¥याली प्रदर्शन गरिएको थियो ।

प्रदर्शनीस्थल बुटवल मण्डपबाट सुरु भएको ¥याली राजमार्ग चौराहा, मिलनचोक, अस्पताललाईन, ट्राफिकचोक, श्रवणपथ, सुख्खानगर हुदै पुनः प्रदर्शनीस्थलमा आएर समापन भएको थियो । ¥यालीमा जातजाती, भेषभुषा, विद्यालय, धार्मिक, टोल विकास समिति, उद्योग लगायत संघसंस्थाहरुको सहभागिता रहेको थियो ।

रामनगर स्थित बुटवल मण्डपमा यहि पुसको १८ गतेसम्म चल्ने प्रदेर्शनीमा उपराष्ट्रपति नन्दकिशोर पुनले उद्घाटन गर्नुहुने कार्यक्रम तय गरिएको छ । १३ दिनसम्म सञ्चालन गरिने प्रदर्शनीमा आई.टी बाहेक सबै स्टलहरु नेपाली उत्पादनका राखिने प्रदर्शनी आयोजक मुल समितिका संयोजक तथा रुपन्देही उद्योग संघका अध्यक्ष दिनेशराज रेग्मीले बताउनु भयो ।

यो वर्षको प्रदर्शनीमा प्रविधिलाई विशेष महत्व दिईएको बताईएको छ । प्रविधिको प्रयोग गरेर प्रदर्शनी स्थलमै उपभोग्य बस्तु उत्पादन गरिने र उपभोक्तालाई प्रत्यक्ष देखाईनेछ ।

त्यस्तै मुलुकमा कृषिका माध्यमबाट आर्थिक बिकासको सम्भावना उत्तिकै छ । संघले प्रदर्शनीमा कृषिलाई पनि उत्तिकै महत्व दिएको पत्रकार सम्मेलनमा उहाँले बताउनु भयो । प्रदर्शनीमा ६३ वटा कृषिका स्टल राखिने छ । त्यसमा माछा पोखरी, नर्सरी, फ्लोरीकल्चर, कृषिजन्य उत्पादन, च्याउ, केरा लगायतका परिकार तथा कृषि प्रविधी समेत समावेश गरिएको उहाँले बताउनु भयो ।

उद्योगी र उपभोक्ताहरूको सोझो सम्पर्कको स्थापना, उत्पादित बस्तुको बजार प्रवद्र्धन र गुणात्मक प्रतिस्पर्धाको विकास, उद्योगीहरूका बीचमा समस्या, अवसर र चुनौतीबारे अन्तरक्रिया, सूचना प्रविधिबारे जानकारी आदान–प्रदान, सरकारी नीति र कार्यान्वयन प्रक्रियामा रहेका कठिनाइहरू तथा उद्योगीहरूका विद्यमान कमजोरी समेतलाई पत्ता लगाई सरकार र उद्योगीहरूलाई सुझाव दिने तथा निर्यातमुलक उद्योगहरुको पहिचान गर्ने लक्ष्य सहित आयोजना गरिएको प्रदर्शनीमा प्रविधि प्रदर्शनी, सूचना केन्द्रको स्थापना र प्रसारण, औद्योगिक गोष्ठी, कार्यशाला र अन्तरक्रिया, साँस्कृतिक कार्यक्रम, पर्यटन सूचना केन्द्र, लुम्बिनी दर्शन यात्रा, भलिवल प्रतियोगिता लगायतका कार्यक्रम गरिने संघका महासचिव माधव पौडेलले जानकारी दिनुभयो ।

प्रदर्शनीलाई मनोरञ्जनात्मक बनाउन लोकदोहोरी प्रतियोगिता, सांगीतिक कार्यक्रम, विद्यालय स्तरीय लोकनृत्य प्रतियोगिता, प्रदर्शनी आइडल, आरसिआई ट्यालेन्ट हन्र्ट प्रतियोगिता सञ्चालन गरिने प्रचार प्रसार संयोजक माधव नेपालले जानकारी दिनुभयो ।

औद्योगिक प्रविधि, सूचना प्रविधि, रेष्टुरेन्ट, अटो, कृषि, हस्तकला, फ्लोरिकल्चर, गार्मेन्ट, वेकरी तथा कन्फेक्सनरी, छालाजुत्ता, खाद्यान्न, आईटी लगायत करिव ५ सय स्टल रहेने प्रदर्शनीमा ६ लाख दर्शकले अवलोकन गर्ते तथा २० करोडको कारोवार हुने आयोजकले अनुमान गरेका छन् ।