बुटवल, २६ मंसिर । प्रदेश पाँचका मुख्य मन्त्री शंकर पोखरेलले राज्यलाई कमजोर बनाएर जनता बलियो बन्न नसक्ने बताउनु भएको छ । उहाँले राज्य सक्षम भएमात्रै जनताका स्थापित अधिकार कार्यान्वयन गर्न पनि सहज हुने बताउँदै स्थापित अधिकार जनतालाई प्रत्याभूत गराउनकालागि राज्यलाई सक्षम बनाउनु पर्ने बताउनु भयो ।
७० औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवस र पेरिस सिद्धान्तको २५ औं वर्षगाठको सन्दर्भमा प्रदेश सरकार, मुख्य मन्त्री तथा मन्त्री परिषदको कार्यालय र राष्ट्रिय मानव अधिकार आयोग प्रदेश कार्यालय बुटवलले बुधबार बुटवलमा आयोजना गरेको मौलिक हकको कार्यान्वयनमा प्रदेश सरकार र प्रदेश सभाको भूमिका विषयक कार्यशाला गोष्ठिमा बोल्दै उहाँले कानुन कार्यान्वयन गर्ने सरकारका निकायलाई विश्वास गरेमात्रै कानुन कार्यान्वयन पक्ष बलियो हुने धारणा राख्नुभयो ।
मुख्यमन्त्री पोखरेलले कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कार पछि भएको हत्या काण्डमा कानुन कार्यान्वयन गर्ने पक्षलाई विश्वास गर्न नसकेकै कारण पिडितलाई न्यायमा प्रत्याभूत गराउन समस्या भएको भनाई राख्नुभयो । उहाँले जिम्मेवार व्यक्तिहरुबाटै त्यस घटनाका अपराधिलाई राज्यले नै लुकाएर राखेको छ भन्नेगरी सामाजिक सञ्जालमा नकारात्मक टिप्पणी भएको बताउँदै त्यस्ता अभिव्यक्तिले सरकारका काम गर्न समस्या भएको भनाई राख्नुभयो ।
अपराध नियन्त्रणमा नागरिकले सहयोग नगर्ने हो भने सरकारले मात्रै केही गर्न नसक्ने बताउँदै उहाँले अधिकारको पैरवी गर्नेहरुले अधिकारकालागि मात्रै नभएर सरकारको काममा सकारात्मक पैरवी गर्न पनि आग्रह गर्नुभयो । जारी संविधानमा आफ्ना नागरिककालागि धेरै हक स्थापित गरिएको बताउँदै नागरिक हक अधिकार प्राप्तीकालागि सरकार सक्षम हुनुपर्ने धारणा उहाँले राख्नुभयो ।
मुख्यमन्त्री पोखरेलले अपराधिक गतिबिधिमा संलग्न व्यक्तिलाई कारवाही प्रकृयामा लैजाँदा न्यायिक निकायबाट मुलुकमा केही भएकै छैन भन्ने गरि सफाई दिनु सरकारलाई कमजोर बनाएर संगठित अपराध गर्नेहरुलाई प्रशय दिने काम भएको उल्लेख गर्नुभयो । ‘यहाँ विभिन्न स्थानमा बम पड्कीरहेको छ, कसले गर्यो, कसैसंग छिपेको छैन ।’ उहाँले भन्नुभयो–‘यहाँ त बम नै पड्केको छैन भन्नेगरी त्यस्ता व्यक्तिले न्यायालयबाट सफाई पाउँछन् ।’ उहाँले यस्ता कृयाकलापले सरकारलाई कमजोर बनाउने र संगठित अपराध गर्नेहरुको मनोबल बढाउने बताउनु भयो ।
त्यस अवसरमा कार्यपत्र प्रस्तुत गर्दै वरिष्ठ अधिवक्ता तेजप्रसाद कंडेलले कानुन कार्यान्वयन पक्ष फितलो हुँदा मुलुकमा कानुन भएर पनि त्यस्ता कानुन सानालाई ऐन र ठूलालाई चैन जस्तै भएको बताउनु भयो । अर्का अधिवक्ता मोहनलाल आचार्यले संविधानमा धेरै अधिकार स्थापित भएपनि संविधान कार्यान्वयन र मावन अधिकारको अवस्था सन्तोषजनक नभएको उल्लेख गर्दै संस्कार सुधार गरे धेरै कुरा सुधार हुन सक्ने उल्लेख गर्नुभयो ।
राष्ट्रिय मानव अधिकार आयोग प्रदेश कार्यालय बुटवलका प्रमुख पवन भट्टको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसी, न्यायधिश गोविन्द शर्मा लगायतले भनाई राख्नुभएको थियो ।